जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १९:१५

प्रधानमन्त्री ओलीको एक्सनपछि विखलबन्दीमा प्रचण्ड


काठमाडौं, मंसिर ५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथी लगाइएका आरोप प्रमाणित नभए अध्यक्ष पद छाड्नुपर्ने अडान लिएपछि दुई नम्बरका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड विखलबन्दीमा पर्नुभएको छ । मंसिर ३ गते बसेको सचिवालय बैठकमा ओलीले आरोप प्रमाणित भए आफु छाड्ने र प्रमाणित नभए नैतिक जिम्मेवारी लिएर अर्का अध्यक्षले छाड्नुपर्ने बताएपछि प्रचण्ड अहिले ओली पक्षीय नेतासँग भेटघाटमा जोड दिनु भएको छ ।

सधै ओली पक्षका नेताहरु प्रचण्डलाई भेटन उहाकै निवास खुमलटार पुग्ने गर्नुहुन्थ्यो । तर, मंसिर ३ गते पछाडीको अवस्था भने फरक छ । अध्यक्ष प्रचण्डले आज ओली पक्षीय दुई नेता महासचिव बिष्णु पौडेल र सुवास नेम्वाङसँग पार्टी कार्यालय धुम्बाराहीमा छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ । भेटमा उहाले प्रधानमन्त्री ओली के गर्दै हुनुहुन्छ भन्ने जस्ता प्रश्नहरु सोध्नु भएको थियो । प्रचण्डले ओलीलाई मनाउन र यस्ता सवाल जवाफले पार्टी एकताको डोरी नचुडिने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेटपछि संचारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री समेत रहनुका महासचिव पौडेलले परिस्थिति निक्कै गम्भिर मोडमा रहेको जानकारी दिनुभयो । महासचिव पौडेलपछि प्रचण्डले नेम्वाङसँग छलफल गर्नुभएको थियो । छलफलमा नेम्वाङले स्थायी कमिटीका निर्णय कार्यान्वयन गर्ने बेलामा अभियोग पत्र दर्ता गराएर राम्रो सन्देश नगएको आफुले बताएको जानकारी दिनुभयो । प्रचण्डले भने प्रधानमन्त्री ओलीको पछिल्लो धारणा के छ भनेर सोध्नु भएको थियो । नेम्वाङले प्रधानमन्त्री निक्कै चिन्तित हुनु भएको र प्रतिवेदन बनाउनमा व्यस्त रहनु भएको जानकारी गराउनु भएको थियो ।

उपप्रधानमन्त्री एंव सचिवालय सदस्य ईश्वर पोखरेलले पनि प्रधानमन्त्रीले सचिवालयमा आफ्नो प्रतिवेदन लिएर आउने बताइसक्नु भएको छ । उहाले प्रधानमन्त्री माथी लागेका एक एक आरोपको जवाफ बोकेर आउने जानकारी गराउनु भयो ।