जनता टाइम्स

१८ जेष्ठ २०७६, शनिबार १७:१६

सरकारले प्रत्येक विद्यालयमा एक स्काउट शिक्षकको व्यवस्था गर्नुपर्छ – भण्डारी, राष्ट्रिय संयोजक, नेपाल स्काउट


नेपालका सातै प्रदेश तथा विभिन्न विदेशी राष्टका हजारौं रोभर\रेञ्जर युवाहरुमा आपसी सद्भाव, भाईचारा, भगिनित्व, सांस्कृतिक आदानप्रदान गराई उनिहरुलाई समाज र राष्ट्रप्रति थप जिम्मेवार बनाउने अपेक्षासहित देशको सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्ने उदेश्यका साथ समृद्धिका लागि सहकार्य भन्ने मुल नारा लिएर आयोजना गरिएको, नेपाल स्काउटका १६ देखी २५ वर्ष उमेर समुहका युवा स्काउटहरुको भेला नेपाल स्काउटको प्रथम राष्टिय रोभर मुट कार्यक्रमलाई यति भब्य र सभ्य बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सबैमा सर्वप्रथम त हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहान्छु ।

म स्मरण गर्न चाहान्छु, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू प्रथम पटक प्रधानमन्त्री हुँदा नेपाल सरकारले स्काउटिङ्ग शिक्षालाई प्राथमिकता दिई एक विद्यालय एक स्काउट इकाई र एक निर्वाचन क्षेत्र एक रोभर\रेञ्जर स्काउट क्रयु संचालन गर्ने योजना अघि बढाएको थियो र आज नेपाल स्काउट त्यहि नीति कार्यान्वयनको पथमा लम्किरहेको छ । भर्खरै हामीले प्रदेश नं. १ मा ४५८ जना युवाहरुलाई प्रशिक्षित गराई स्काउट मास्टरको रुपमा तयार पारेका छौं, जसले आफ्नो स्थानीय तह र प्रदेशमा रहेका युवा तथा बालबालिकाहरुलाई संगठित गरी हरेक सार्वजनिक र संस्थागत विद्यालयहरुमा स्काउटिड संचालन गर्नेछन् । यो अभियान सातै प्रदेशमा संचालन हुनेछ, फलस्वरुप नेपाल स्काउट अब नेपालका हरेक गाँउ, शहर र कुना कन्दरामा पुग्ने निश्चित छ र यस लक्ष्य प्रति हामी दृढ संकल्पित छौं ।

स्काउटिङ्ग युवाहरुको निम्ति एक अनौपचारिक शैक्षिक अभियान हो । औपचारिक शिक्षाबाट उपलब्ध हुन नसक्ने जीवनोपयोगी, साहसिक, व्यवहारिक, मनोरञ्जनात्मक तथा बौद्धिक क्षमताको विकास स्काउटिङ्गको माध्यमबाट युवाहरुले प्राप्त गर्नेछन् साथै स्काउटिङ्ग युवाहरुलाई रोजगारसग प्रत्यक्ष जोड्ने एउटा सुनौलो अवसर पनि हो ।

हिजो हाम्रा युवाहरु सानैदेखि विकृती, विसंगतिमा फसी सामाजिक अपराधि बन्न खतरा बढ्दै गएको थियो, साथै, मुलुक भित्र रोजगारीको अवसर नपाई खाडी मुलुकमा रगत पसिना बगाउन बाध्य थिए । उच्च शिक्षा हासिल गर्न विदेश जाने, तर विदेश गएपछि स्वदेश नफर्कने समस्या थियो । तर आज समय फेरिएको छ, नेपाल सरकारले यी र यस्ता धेरै समस्यालाई मध्यनजर गरी अब दिनमा शिक्षामा व्यापक फेरवदल गर्ने रोजगार मुलुक र सभ्य, सुसंस्कृत समाज निर्माण गर्ने शैक्षिक प्रणालीमा सुधारको प्रयासलाई हामीले स्वागत गर्नेपर्छ । र यो अभियानमा स्काउट शिक्षा एउटा खम्बा भएर उभिन तयार छ ।

परम्परागत स्काउट शिक्षाको मुल्य मान्यतालाई सम्मान गर्दै बालबालिका तथा युवाहरुलाई आधुनिक र युवामैत्री कार्यक्रम प्रदान गर्ने कुरामा हामी निक्कै गम्भीर भएका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा नेपाल स्काउटको तर्फबाट योगदान गर्ने लक्ष्य सहित यस वर्षभित्र सातै प्रदेशमा कम्तिमा ३५ सय युवाहरुलाई स्काउट मास्टरको रुपमा उत्पादन गरी उनिहरुलाई प्रत्यक्ष रोजगारी प्रदान हाम्रो लक्ष्य रहेको छ ।
नेपालका प्रत्येक विद्यालयमा स्काउट शिक्षा अनिवार्य गराई बालबालिका तथा युवाहरुले यो व्यवहारिक शिक्षाको लाभ उठाई आफ्नो चौतर्फी विकास गर्ने अवसर पाउन् भन्ने हाम्रो अपेक्षा छ । एउटा गरिब किसान, मजदुरका छोराछोरीले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रस्तुत गरुन् भन्ने हामी चाहान्छौं । त्यसका लागि सम्माननिय प्रधानमन्त्रीज्यूले प्रत्येक विद्यालयमा एक स्काउट शिक्षकको व्यवस्था गरि युवा तथा बालबालिकालाई यो अबसर प्रदान गर्न सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं । यस अभियानको पहिलो पहलकदमी स्वरुप यसवर्षबाट ४२ जिल्लाका ४२ विद्यालयहरुमा निशुल्क स्काउट पोशाक बितरणको कार्यक्रम शुरु भएको छ ।

यो अभियानमा सम्माननीय प्रधानमन्त्री एंव आदरणीय संरक्षकज्यूको निरन्तर मार्गनिर्देश र माननिय मन्त्रीज्यूको पहलकदमीको अपेक्षा नेपाल स्काउटले सदैब गरेको छ । साथै सातै प्रदेशका प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकारसगको सहकार्य यो महान् अभियानका लागि अपरिहार्य छ ।

(स्काउट रोभर मुटका स्काउटका संयोजक लोकबहादुर भण्डारीले व्यक्त गर्नुभएके विचारका सम्पादित अंश)