काठमाडौं, मंसिर १० । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानलाई चण्डोलबाट आज पक्राउ गरेको हो ।
सीआईबीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल थापाले इन्जिनिरिङ कलेज चाँगुनारायण भक्तपुरमा ठगी गरेको आरोपमा पूर्वअध्यक्ष न्यौपानलाई पक्राउ गरिएको जानकारी दिनुभयो । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको रुपमा कार्यरत थिए । यस्तै उनी २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रुपमा कार्यरत रहेका थिए ।
इन्जिनियरिङ कलेजमा ठगी गरेको आरोपमा कांग्रेसका पूर्वसांसद सूर्यबहादुर केसी, जावलाखेलका रामरत्न उपाध्याय, विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लबराज भट्टराई प्रतिवादी छन । कांग्रेस सांसद केसीको भने निधन भइसकेको छ । कलेजमा उनीहरुविरुद्ध तथ्यगत बिगो ८ करोड २१ लाख ६ सय ५० रुपैयाँ छ । यस्तै लेखा परीक्षणबाट खुल्न आएको बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
न्यौपानेको नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बराबरको ठगी गरेको आरोप छ । न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा समेत उजुरी रहेको छ । उनी विरुद्धको अर्को मुद्दा अदालतमा विचराधीन छ । रामेछाप मन्थली नगरपालिका ८ का स्थायी बासिन्दा न्यौपाने तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका थिए ।
प्रतिक्रिया दिनुहोस्