जनता टाइम्स

११ मंसिर २०७७, बिहीबार १६:०७

आन्दोलित कर्मचारीको माग पुरा गर्न जानकी मेडिकल कलेजलाई ७२ घण्टे अल्टिमेटम


काठमाडौं, मंसिर ११

नेपाल स्वास्थ्यकर्मी संघ धनुषाले जानकी मेडिकल कलेज शिक्षण अस्पतालका आन्दोलित कर्मचारीको माग पुरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका छन्। आन्दोलनमा ऐक्यवद्धता जनाउँदै संघले उनीहरुको माग पुरा गर्न अस्पताल प्रशासनलाई बुधबार ७२ घण्टे अल्टिमेटम दिएका हुन् । शुक्रबारसम्म आन्दोलित कर्मचारीहरुलाई वार्तामा नबोलाए विरोधका कार्यक्रम ल्याउन बाध्य हुने संघ धनुषाका अध्यक्ष राम गुलाम कर्णले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शुक्रबारसम्म पनि उनीहरुलाई वार्तामा नबोलाए हामी स्वास्थ्य संस्था ठप्प पार्ने सम्मका आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौं।’ अस्पतालले नियमित तीन महिनादेखिको तलब, ६ वर्षको सञ्चय कोष, २०७५ सालको चैत र वैशाख महिनाको तलब नदिएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारीहरु गत असोज १२ गतेदेखि आन्दोलनमा छन् । अस्पतालले श्रम शोषण तथा ज्यादती गरेको भन्दै दुई कर्मचारी कार्तिक १६ गतेदेखि आमरण अनसनमा समेत छन्।

उनीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपनि अस्पताल प्रशासनले कुनै वास्ता नगरेको अध्यक्ष कर्णले बताउनुभयो। आमरण अनसनमा बसेका ती दुई कर्मचारीको स्वास्थ्य अवस्था नाजुक भएपछि उनीहरुलाई आईसियुमा भर्ना गरिएको छ। उनीहरुको जीवन रक्षाका लागि भएपनि अस्पतालले आन्दोलित कर्मचारीलाई वार्तामा बोलाउनुपर्ने कर्णले बताउनुभयो। अस्पतालका सुरक्षा इन्चार्ज जानकी शरण यादव र पारामेडिकल कुलदिप शाह आमरण अनसनमा छन्।

आन्दोलित कर्मचारीले असोज १२ गतेदेखि नै अस्पतालको इमरजेन्सी बाहेक अन्य सबै सेवा ठप्प पारेको छ। २०७५ को चैत १५ गतेसम्म सबै कर्मचारी, फ्याकल्टी तथा चिकित्सकहरुको लेखा शाखासँग व्यक्तिगत हरहिसाब पारदर्शी गर्ने र १६ गतेदेखि उनीहरुले हिसाब लिन पाउने अस्पतालले निर्णय गरेको थियो। अस्पतालको व्यवस्थापन पक्षले आफुहरुसँग गरेका ती सहमतिहरु समेत कार्यान्वयन नगरेको उनीहरुको आरोप छ।

हालसम्मको बाँकी बक्यौता तलब भत्ता एकमुष्ट रुपमा भुक्तानी गर्नुपर्ने लगायत उनीहरुको माग छन्। इमरजेन्सी, आइसियु, ओटी, क्लिनीकल प्याथोलोजी ल्याब, एक्सरे लगायतको फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरुलाई पिपिई, केएन ९५, सेनिटाइजर उपलब्ध गराउन, सम्पूर्ण कर्मचारीको जीवन बिमा र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा पिसिआर परीक्षण गराउनुपर्ने लगायत माग उनीहरुको छ।