जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १२:४५

कोरोनासम्बन्धि प्रधानमन्त्री ओलीको त्यो भनाई स्वास्थ्य अनुसन्धान परिषद्ले गरिदियो सत्य भएको पुष्टि


काठमाडौं, मंसिर १२

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदको बैठकमा बोल्ने क्रममा कोरोना संक्रमणबारे एउटा अभिव्यक्ति दिनुभयो । जो निक्कै चर्चामा आएको थियो । उहाले भारतबाट आएका व्यक्तिमा देखिएको कोरोना अलिक कडा खालको देखिएको बताउनु भएको थियो । सो विषयलाई तत्कालिन अवस्थामा निक्कै आलोचना गरेका थिए । तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको तथ्यांक अहिले बाहिर आएको छ ।

परिषद्ले गरेको कोरोनाभाइरसको आनुवंशिक संरचनाको अध्ययनमा भारत र साउदी अरबबाट आएको भाइरसले संक्रमण बढि फैलिएको पुष्टि गरेको छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार वुहानबाट नेपाल फर्किएका व्यक्तिमा देखिएकोभन्दा SARS-CoV-2 भाइरसको प्रकृति फरक देखिएको बताउनु भयो । ‘यसको अर्थ के हुन्छ भने भारत र साउदी अरबतिरबाट आएका मानिसहरूबाट भाइरसको सङ्क्रमण फैलिएको छ भन्ने देखिन्छ’, उहाले भन्नुभयो ।

परिषद्ले गत असारमा देशभरिबाट १५ वटा नमुना सङ्कलन गरेर कोरोनाभाइरसको आनुवंशिक अध्ययन थालेको थियो । अधिकारीहरूका अनुसार स्वाबबाट नमुना सङ्कलन गर्दा फरक ठाउँ, उमेर र लिङ्ग अनि स्थलमार्ग र जहाजमार्फत् नेपाल भित्रिएका मानिसलाई संलग्न गराइएको थियो । जीवित सङ्क्रमितबाट मात्र हैन, कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिबाट पनि नमुना लिइएको थियो ।

अनुसन्धानले सुरुमा देखिएको भाइरस र असारमा देखिएको भाइरसको क्षमतामा कस्तो फरक आयो र त्यसले सङ्क्रमण फैलाउन कति सहयोग गर्‍यो भन्ने अध्ययनका लागि सघाउ पुग्ने भाइरसविज्ञ डा. लुना भट्ट बताउनु हुन्छ । ‘यसले के देखायो भने सुरुको स्पाईक प्रोटीन चाहिँ एस्पार्टिक एसिडबाट ग्लाइसिनमा परिवर्तन भयो। यो म्यूटेशन (उत्परिवर्तन) ले गर्दा भाइरस सजिलैसँग सर्न सक्ने र सङ्क्रमण फैलिन सक्ने भयो’, उहाले भन्नुभयो । कोरोनाभाइरसको सतहमा काँडाजस्तो देखिने भाग नै स्पाईक प्रोटीन हो ।

भाइरसको प्रकृतिमा आएको परिवर्तन हेर्न तथा कस्तो खालको खोप नेपाललाई सुहाउँछ थाहा पाउन आनुवंशिक संरचनाको अध्ययन नियमित गर्नुपर्ने आवश्यकता परिषद्का सदस्यसचिव ज्ञवालीले औँल्याउनु भयो । उहाका अनुसार प्रत्येक महिना नमुना सङ्कलन गरेर जीन सिक्वेन्सिङ गरी पुनः सङ्क्रमण भए नभएको पनि हेर्न सकिन्छ ।

अहिले गरिएको अध्ययनले नेपालको क्षमता देखाएको र यसलाई निरन्तरता दिएर नेपाललाई कस्तो खालको खोप उपयुक्त हुन्छ भन्ने थप आधार पाइने उहाको भनाइ छ । सरकारले असारमै अनुसन्धान थाले पनि निष्कर्ष आउन समय लागेको थियो ।