काठमाडौं, जेठ १९
अमेरिकाबाट प्रकाशित एक म्यागाजिनले तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको दरवार हत्याकाण्ड अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे दावी गरेको छ । अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने म्यागाजिन मन्थ्ली रिभ्युले यस्तो दाबीसहितको लामो समाचार प्रकाशन गरेको हो ।
‘कम्यारिजन विटविन रिसेन्ट युएस ब्याक्ड कुप्स : कराकस एन्ड काठमाडौं’ शीर्षकमा पत्रकार वेन म्याडसेनले लामो फिचर लेख्दै पूर्वराजा ज्ञानेन्द्र सिआइएको सम्पर्कमा रहेको भन्दै दावी गरेका छन । सो समाचारमा जनाइएअनुसार अमेरिकाले तत्कालीन भेनेजुयलाका राष्ट्रपति ह्युगो साबेज र नेपालका राजा वीरेन्द्रलाई सिध्याउन एकैखाले रणनीति अपानाएको उल्लेख छ । त्यो रणनीति भेनेजुयेलामा असफल भएको तर नेपालमा सफल भएको सो म्यागाजिनमा लेखिएको छ ।
म्यागाजिनमा लेखिएको फिचरअनुसार विपत तालिमका नाममा सिआइएले वीरेन्द्रको वंशनाश अभियान अघि बढाएको जिकिर गरिएको छ । म्यागाजिनमा जनाइएअनुसार तत्कालीन युद्धरत माओवादीसँग वार्ताका पक्षधर र भारतविरोधी राष्ट्रवादी भएकाले वीरेन्द्रको वंशनाश रअसँग मिलेर अमेरिकाको गुप्तचर सिआइएले गरेको हो । सो म्यागाजिनले लेखेको छ, ‘दरबार हत्याकाण्ड हुनुभन्दा केही महिनाअगाडि नेपालमा सिआइएले एक कार्यालय स्थापना गर्यो । यो कार्यालय स्थापनासँगै अमेरिकाबाट अमेरिकी सेनाका स्पेसन अपरेसन्स फोर्सेसका सदस्य नेपाल आएका थिए । उनीहरुले ‘बेली नाइन्टिगेल वान’ नामक गोप्य अभ्यास गर्न थाले ।
अभ्यासलाई वैधता दिन भूकम्प विपत तालिमको नाम दिइएको थियो ।’ सो फिचरमा उल्लेख भएअनुसार अभ्यास टिममा अमेरिकाको मनोवैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने साइकोलो अपरेसन्सका सदस्य पनि सहभागी थिए । यही साइकोलोजिकल टिमले नै दरबार हत्याकाण्ड राजकुमारबाट भएको भनेर विश्वभर हौवा फिँजाएको सो म्यागाजिनले लेखेको छ । सुरुमा तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले स्वाचालित हतियार आफैं पड्केर परिवार सकिएको र पछि दीपेन्द्रको प्रेम सम्बन्धले परिवारमा आएको खटपटले परिवारको हत्या गरे भनेर हल्ला गर्नुमा साइकोलोजिकल टिमको डिजाइन भएको जिकिर सो म्यागाजिनको समाचारमा उल्लेख छ ।
दरबार हत्याकाण्डपछि वीरेन्द्र परिवारको लास उठाउन अमेरिकाका तत्कालीन प्यासिफिक कमान्डर डेनिस ब्लेरको नेतृत्वमा तालिम दिएका नेपाली सैनिक कमान्डोले काम गरेको पनि म्यागाजिनमा लेखिएको छ । ब्लेरकै सहयोगमा इस्ट टिमोरमा पनि सैनिक कु भएको म्यागाजिनले लेखेको छ । यो सबै योजना सिआइएका तत्कालीन निर्देशक जर्ज टिनेटले गरेको सो म्यागाजिनको जिकिर छ ।
सो म्यागाजिनले पूर्वराजा ज्ञानेन्न्द्रमाथि पनि संगीन आरोप लगाएको छ । उस्ले दरवार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र सिआइएका सहयोगी बनेको ठोकुवा गरेको छ । रिचर्ड निक्सन र जेनेरल फोर्ड राष्ट्रपति हुँदा अमेरिकाकाले विदेश सचिव र रक्षा सल्लाहकार रहेका हेन्री किसिन्जरसँग ज्ञानेन्द्रको सम्बन्ध भएको सो म्यागाजिनको दावी छ ।
अमेरिकी राष्ट्रपति जेनेरल फोर्ड प्रशासन र किसिन्जरसँग ज्ञानेन्द्रको सन १९७० देखिकै सम्बन्ध भएको भन्दै म्यागाजिनले दरबार हत्याकाण्डको डिजाइनमा महाराजगन्जस्थित सिआइएको अफिस बनाइएको र जुन ज्ञानेन्द्रको आवास नजिक भएको दाबी गरिएकोे छ ।दरबार हत्याकाण्डका दिन भेला भएका वीरेन्द्र परिवारसँगै उपस्थित ज्ञानेन्द्रका छोरा पारसलाई केही नहुनु तर अरुको वंशनाश हुनु रहस्य भएको सो म्यागाजिनको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्