जनता टाइम्स

२३ मंसिर २०७७, मंगलवार १२:४५

चितवन कारागारमा बिरामी नै बिरामी


चितवन, मंसिर २३

कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन्। यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन्। उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको संख्या धेरै भएको हो। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर, नवलपरासी, धादिङ, गोरखा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौँलगायतका जिल्लाबाट बिरामी कैदीबन्दी पठाउने गरिएको छ।

अहिले कारागारमा उच्च रक्तचापका ७३, मधुमेहका ६२, थाइराइडका ११, मुटुरोगी छ, एचआइभी एड्स सङ्क्रमित तीन, छारेरोगका दुई, पक्षघातका दुई, नसा, कुष्ठरोग र क्षयरोगका एकरएक जना रहेको काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीमध्ये सबैभन्दा धेरै चितवनका छन्। जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण स्वास्थ्यमा समस्या देखिएसँगै कैदीबन्दीलाई यहाँ पठाउने गरिएको उहाँले बताउनुभयो ।

अहिले यस कार्यालयमा क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी छन् । दुई सय ५५ पुरुषको क्षमता रहेको कारागारमा ६४४ पुरुष, २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५५ महिला र दुई आश्रित बालबालिका छन् । उनीहरूको स्वास्थ्य उपचारका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा ४८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको थियो भने अहिले कोभिड–१९ सङ्क्रमणका कारण बजेट कटौती गरेको छ । अहिले उपचारका लागि रु २२ लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।