जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १४:४२

सरकार तत्कालै परिवर्तन हुँदैन, अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाइन्छ : मन्त्री बाँस्कोटा


सिन्धुली, जेठ १९

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । उहाँले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताउनुभयो ।

वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको बताउँदै उहाँले भन्नुभयो, ‘सामाजिक न्यायसहितको द्रूत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको छ, अब आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने संकल्प हामीले लिएका छौँ ।’

शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उहाँको भनाइ थियो। उहाँले अहिलेको सरकारले पूर्वाधार बनाउने र पूर्वाधारले राष्ट्रलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाइने र करिब १३ हजार डलर प्रतिव्यक्ति आय पुर्याइने उहाँको भनाइ थियो । हुलाकी राजमार्ग, सुनकोशी–मरिण ड्राइभर्सनलगायत धेरै क्षेत्रमा सरकारले बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले मुलुकका ७० जिल्लालाई आगामी आर्थिक वर्षभित्र साक्षर जिल्ला घोषणा गरिने बताउनुभयो ।

सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत सरकारले ल्याएको बजेटले विपक्षी आत्तिएकाले अनावश्यक हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । कनिका छरेजस्तो बजेट भनेर प्रचार गरिए पनि त्यस्तो नभएको बताउँदै मन्त्री बाँस्कोटाले बजेटका विषयमा अनावश्यक टिप्पणी गरेर अनावश्यक गीत नगाई देश विकासमा सबैलाई एक जुट हुन आग्रह गर्नुभयो ।

‘अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाइन्छ, तिनै व्यक्तिले टिकट काटेर रेल चढ्छन्, उडाउनेले उडाउँदै गर्छन्’, उहाँले भन्नुभयो । उहाँले सरकारले मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने र अराजकता नियन्त्रण गर्ने बताउनुभयो ।