कैलाली, मंसिर २८
धनगढीमा एकैदिन दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा धनगढी उपमहानगरपालिका–१ की ५५ वर्षीया महिला र गोदावरी नगरपालिका–१ की ७५ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि धनगढीकी ५५ वर्षीया महिला मंसिर २२ गते अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालका अनुसार उहाँ मधुमेह सम्बन्धी रोगबाट समेत पीडित हुनुहुन्थ्यो । उहाँको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
यता गोदावरीको ७५ वर्षीया महिलाको उपचारको क्रममा आजैमृत्यु भएको अस्पतालले जनाएको छ । उहाँ मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । यससँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ।













प्रतिक्रिया दिनुहोस्