काठमाडौं, मंसिर २९
सरकारको पहलपछि गत वर्षबाट उखु मिलहरुले दुई अर्बमध्ये एक अर्ब रुपैयाँ किसानलाई भुक्तानी गरेको भेटिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार आधा रकम किसानले पाएका छन् भने बाँकी भुक्तानीको विषयमा गृह मन्त्रालयको नेतृत्वमा मन्त्रालयस्तरीय छलफल हुने भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार छलफलमा गृहमन्त्रालय, उद्योग र कृषि मन्त्रालय सहभागी हुनेछन् । दुवै पक्षको समस्या सुनेपछि थप निर्णय लिने बताइएको छ । मन्त्री भट्टका अनुसार अहिले मन्त्रालयले कुन–कुन चिनी मिलले पैसा दिए, कुनले दिन बाँकी छ । कति किसानले पाए, कतिले पाउन बाँकी छ र पैसा नपाउने किसानको अवस्था के छ भन्ने विषयमा जानकारी लिइरहेको बताउनु भयो ।
उहाले किसानको समस्यालाई लिएर राजनीति भने नगर्न चेतावनी दिनु भएको छ । ‘गत वर्ष किसानले साँच्चै पैसा नपाएर आउँदा कुनै पार्टीले केही बोलेको थिएन, अहिले यो सरकारले केही गरेन हाम्रो भने समर्थन छ भन्दैछन्,’ मन्त्री भट्टले भन्नुभयो, ‘किसानलाई समर्थन गर्नु राम्रो कुरा हो, तर पार्टीगत स्वार्थ चाहिँ राख्नु हुन्न ।’
मन्त्रालयका अनुसार अन्नपूर्णमा ३७ करोडमा २० करोड रुपैयाँ तिरिसकेको छ भने १७ करोड रुपैयाँ बाँकी छ । इन्दिराको ९ करोड ७० लाख रुपैयाँमा ५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ४ करोड ७० लाख रुपैयाँ बाँकी छ । महालक्ष्मी सुगर मिलको २० लाख बाँकी रहेकोमा किसानको खाता नभएकाले भुक्तानी नभएको बताएको छ ।
लुम्बिनीको ८ करोड ४१ लाख ४१ हजार ५ सय ५६ रुपैयाँ बाकी छ । त्यसको सञ्चालकको मृत्यु भएकाले मन्त्रालयले उनीहरूको परिवारसँग सम्पर्क गराइदिन गृहमा पत्राचार गरेको बताएको छ । श्रीरामको ९२ करोड थियो अहिले साढे २७ करोड रुपैयाँ बाँकी छ । श्रीरामको मिल नै बन्द भएकाले कानुनी प्रक्रियामा जान पर्ने भएकाले समय लागेको मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्