जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १७:४५

प्रधानन्यायाधीश चोलेन्द्रको एक्शन : न्यायाधीशबिरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं, जेठ १९

न्यायपरिषदले तनहुँका तत्कालिन जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरूद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । न्यायाधीश उपाध्यायले नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको जनाउँदै न्यायपरिषदले उनीबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

न्यायपरिषदले छानबिनको क्रममा उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै कारबाही सिफारिस गरेपछि न्यायाधीश उपाध्यायले दुई साता अघि राजीनामा दिनुभएको थियो । उहाँलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय र जरिवाना हुनुपर्ने दावी परिषदले गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर सरकारी वा सार्वजनिक पदमा काम गरेको प्रमाणित भए १० देखि २० हजारसम्म जरिवाना र ६ महिनादेखि एकवर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

उपाध्यायले भारतको कानपुर विश्वविद्यालय (हाल छत्रपति साहुजी महाराज विश्वविद्यालय) बाट स्नातक तहको शैक्षिक प्रमाणपत्रका रूपमा प्रोभिजनल सर्टिफिकेट मात्र बुझाएको न्यायपरिषदले जनाएको थियो । परिषदले छानविन गर्दा उपाध्यायले उक्त स्थायी शैक्षिक प्रमाणपत्र पेश नगरेको र गर्न पनि नसकेको भेटिएको थियो । गत साता न्यायपरिषद बैठकले उपाध्यायविरूद्ध विशेषमा मुद्दा हाल्ने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले न्याय क्षेत्रमा सुधार गरी जनताको बिश्वास जगाउन सुद्धिकरण अभियान चलाउने घोषणाअनुसार परिषदले यस्तो निर्णय लिएको हो । प्रधानन्यायाधीशको पदबहालीकै क्रममा राणाले आफ्नो पालामा न्यायालयप्रति गुमेको बिश्वास जगाउने घोषणा गर्नुभएको थियो ।