जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार २०:५०

प्रधानमन्त्री ओलीको बेलायत भ्रमण : भूपू गोर्खा सैनिकका समस्या समाधान नेपालको एजेण्डा


काठमाडौं, जेठ १९

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न बेलायत भ्रमणमा भूपू गोर्खा सैनिकको समस्या समाधानको बिषयमा छलफल हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज पत्रकारसँगको कुराकानीमा भ्रमणमा भूपू गोर्खाका समस्या समाधानलाई एजेण्डाको रुपमा अघि बढाइने जानकारी दिनुभएको हो ।

मन्त्री ज्ञवालीका अनुसार बेलायतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले २०३ वर्ष पुरानो आपसी सम्बन्धका साथै नेपालको सामाजिक–आर्थिक, राजनीतिक क्षेत्रमा उक्त देशबाट नेपाललाई प्राप्त सहायता, साझेदारीका भावी योजना तथा मार्गचित्रसहितको समग्र पक्षको बृहत सिंहावलोकन गर्नेछ । ‘भ्रमणको क्रममा भूतपूर्व गोर्खा सैनिकका निवृत्तिभरणलगायत सुविधाका बारेमा पनि द्विदेशीय छलफल हुनेछ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो ।

प्रधानमन्त्री ओली आगामी जेठ २५ गते युारोपियन मुलुकका तीन राष्ट्र स्वीटजरल्याण्ड, बलायत र फ्रान्सको भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले जेठ २५ देखि ३२ गतेसम्म युरोपेली देश स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने भएको हो । प्रधानमन्त्री अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शत्वार्षिकीको अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा जेठ २६ र २७ गते स्विट्जरल्याण्डको जेनेभामा रहनुहुने छ । जेठ २७ गते नै उहाँले आइएलओको विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

स्वीटजरल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले केही देशका समकक्षीसँग र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेठ २७ देखि २९ गतेसम्म बेलायतको औपचारिक भ्रमण गर्नुहुने उहाँले बेलायत बसाइका क्रममा जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी बेलायती प्रधानमन्त्री थेरेसा मेसँग जेठ २८ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्नुहुनेछ । पेरिसमा उहाँले आफ्ना फ्रान्सेली समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नुहुनेछ ।

परराष्ट्र नीतिमा राष्ट्रिय संवाद

मुलुकले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका सम्बन्धमा देशभित्रै साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले सरकारले आगामी असार १४ गते परराष्ट्र नीतिमा राष्ट्रिय संवाद विषयको अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।

नेपालमा नयाँ संविधान जारी भई त्यसले मुलुकको अन्तराष्ट्रिय सम्बन्धसम्बन्धी निर्देशक नीतिको उल्लेखसमेत गरेको पृष्ठभूमिमा नेपालका राजनैतिक दलहरू, परराष्ट्र मामिलाका क्षेत्रमा अध्ययन अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरूसहितका सरोकारवालाहरूको सहभागितामा आयोजना गरिने उक्त संवादले संविधानको मर्म एवं भावनाअनुरूप वर्तमान विश्व परिवेशलाई सुहाउँदो परराष्ट्र नीति तर्जुमा गर्न योगदान पुग्ने विश्वास सरकारले गरेको मन्त्री ज्ञवालीको कथन छ ।