जनता टाइम्स

२ पुष २०७७, बिहीबार १३:१९

कमेडी च्याम्पियन सिजन–२ को फिजिकल अडिसन सुरु


काठमाडौं, पुस २

‘कमेडी च्याम्पियन’ सिजन–२ को फिजिकल अडिसन सुरु भएको छ । बुधबारबाट काठमाडौंमा फिजिकल अडिसन सुरु भएको हो । यसअघि महामारीका कारण आयोजकले डिजिटल अडिसन खुल्ला गरेका थिए । डिजिटल अडिसनमा आएका भिडियो कन्टेन्टबाट उत्कृष्ठ १८० फिजिकल अडिसनमा सहभागी हुँदैछन् । पहिलो दिन हिजो ४५ जनाले अडिसन दिएका छन् ।

निर्देशक विशाल भण्डारीका अनुसार यही दरमा दैनिक फिजिकल अडिसन लिइने छ । भदौ १५ बाट सुरु भएको डिजिटल अडिसन असोज ३० सम्म लिइएको थियो भने ६ हजारभन्दा धेरै डिजिटल अडिसनमा सहभागी भएका थिए । १८० बाट २४ जना छनोट हुने र फेब्रुअरीको पहिलो साता ६ बाट टेलिभिजनमा शनिबार र आइतबार प्रशारण हुन्छ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु हुने निर्देशक भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो एउटै उद्देश्य, हासौं र हसाऔं भनेर कोरोनाको त्रासबीच कार्यक्रम सुरु गरेका हौं पहिलेको तुलनामा सहभागिता समेत दोब्बर छ । अपेक्षा नै नभएको करिब ४० प्रतिशत कन्टेन्ट हसाउँने नै आएको छ ।’ विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । चार गुणा बढी जनशक्ति थपिएको भन्दै उहाँले मूल्यांकन फर्म्याट केही परिवर्तन गरिएको र सेटमा मात्रै १५–२० लाख बढी खर्च भएको बताउनुभयो ।

कार्यक्रममा यो पटक पनि निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै रहेका छन् । होष्टको जिम्मा अभिनेत्री रीमा विश्वकर्माले नै पाउनुभएको छ । कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बन्नुभएको थियो । यो पटकबाट कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।