जनता टाइम्स

२ पुष २०७७, बिहीबार १६:११

आन्दोलनरत त्रिविका आंशिक प्राध्यापक धर्नामा


काठमाडौं, पुस २

समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा बसेका हुन् । वर्षौंदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको बौद्धिक शोषण भएको भन्दै आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ ।

आंशिक प्राध्यापक संघका संरक्षक शशिकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भए पनि कार्यान्वयन नभएको बताउनुभयो । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ । संघका प्रवक्ता मोहन घिमिरेले देशभरका क्याम्पसका प्राध्यापकहरुसँग सम्झौता भए पनि कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएकाले धर्नामा बस्नुपरेको बताउनुभयो ।

वार्ता टोलीका सदस्य एवं संघका महासचिव राजेन्द्र गिरीले लामो समयदेखि आन्दोलनरत भए पनि समस्या समाधानका लागि त्रिविले चासो नदिएको बताउनुभयो । अहिले ९०% बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भए पनि कामअनुसारको पारिश्रमिक नभएको उहाँले बताउनुभयो । प्राध्यापक संघले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्नेलगायत मागहरु पनि राखेको छ ।