जनता टाइम्स

३ पुष २०७७, शुक्रबार १२:३०

मनाङमा फेरि देखियो कोरोना


मनाङ, पुस ३

देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पीसीआर अनिवार्य गरिएको छ ।

हालसम्म मनाङमा २८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नौ सङ्क्रमित निको भएसँगै मनाङ शून्य संक्रमित बनेको हो । शून्य भएको धेरै दिनपछि आज एकजनामा सङ्क्रमण पुष्टि भएको हो ।

ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसींसहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उहाँको उपचारकै क्रममा लमजुङबाटै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ । उहाँलाई थप उपचारका लागि काठमाडौं लगिएको स्रोतले जनाएको छ ।

हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीय बासिन्दामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय सङ्क्रमित पुष्टि भएको र दुईजना निको भइसकेका छन् । हाल जिल्लामा एकजना मात्रै सङ्क्रमित छन् । अन्य बिरामी निको भएर घर फर्किसकेका छन् ।