जनता टाइम्स

३ पुष २०७७, शुक्रबार १५:५१

२१ वर्षे नेपाली युवा : फेसबुकको ‘बग’ पत्ता लगाउँदा १२ लाख पुरस्कार


काठमाडौं, पुस ३

नेपाली इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेलले फेसबुकको बग अर्थात कमजोरी पत्ता लगाएर कम्तिमा पौने १२ लाख रुपैयाँ पुरस्कार हात पार्नुभएको छ । यसअघि इन्स्टाग्रामको बग पत्ता लगाउनुभएको उहाँले यस पटक फेसबुकको कमजोरी उजागर गर्नुभएको हो ।

फेसबुकको बग पत्ता लगाएवापत पोखरेलले १० हजार अमेरिकी डलर अर्थात ११ लाख ५७ हजार ३०० रुपैयाँ बराबरको रिवार्ड अर्थात सम्मान पाउनुभएको छ । यसअघि इन्स्टाग्रामको कमजोरी पत्ता लगाए वापत उहाँले ६ हजार अमेरिकी डलर पुरस्कार हात पार्नुभएको थियो ।

त्यतिखेर उहाँले इन्स्टाग्राममा लामो समयअघि नै प्रयोगकर्ताले डिलिट गरेको फोटो र डाइरेक्ट म्यासेज (डीएम) कम्पनीको सर्भरमै रहने गरेको तथ्य पत्ता लगाउनुभएको थियो । उहाँले ट्वीटरमार्फत आफ्ना लागि एकदमै विशेष दिन रहेको भन्दै खुशी साट्नुभएको छ । जसमा उहाँले पाँच अंक डलर बाउन्टी रिवार्ड प्राप्त गरेको समेत खुलाउनुभएको छ ।