जनता टाइम्स

५ पुष २०७७, आईतवार १६:०९

‘कोरोनाको खोपले महिलाको दाह्री पलाउन सक्छ !’


ब्राजिल, पुस ५

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोका कोरोना संबन्धी अभिव्यक्तीहरु‌‌ आलोचित बनिरहेका बेला कोरोनाविरुद्धको खोपबारे उहाँले फेरी अर्को विवादास्पद अभिव्यक्ति दिनुभएको छ । कोरोना विरुद्धको खोप ब्राजिलियनलाई नलगाउने भन्दै उहाँले कोरोनाको खोप लगाए महिलाको गालामा दाह्री पलाउनसक्ने तथा मानिस गोही बन्नसक्ने, दावी समेत गर्नुभयो । यस्तै पुरुषको स्वर महिलाको जस्तै बन्नसक्ने वा यस्तै बदलाव आउनसक्ने भन्दै भ्याक्सिन लगाउनु उपयुक्त नभएको उहाँको ठहर छ ।

फाइजर कम्पनीको भ्याक्सिनले यसको गलत असर देखिएमा आफू जिम्मेवार नहुने भनेपछि बोल्सोनारोले यस्तो अभिव्यक्ति दिनुएको हो । उहाँको यसअघि पनि कोरोना भाइरसलाई साधारण रुघाखोकी मात्रै हो भन्ने अभिव्यक्ती विवादित बनेको थियो । यद्यपि भ्याक्सिनको परीक्षण ब्राजिलमा पनि भइरहेको छ । ब्राजिलसँग चिनियाँ र अरु केही औषधि कम्पनीले सम्झौता गरेका छन् ।

विश्वमा सबैभन्दा धेरै कोरोनाको असर पर्ने देशमध्ये ब्राजिल पनि एक हो । जहाँ अमेरिकापछि धेरै मृत्यु भएको हो । अर्थात् यहाँ १ लाख ८५ हजार भन्दा धेरैको मृत्यु हुनुका साथै ७१ लाख भन्दा धेरे संक्रमित भइसकेका छन् । त्यसो त ब्राजिलका राष्ट्रपति बोल्सोनारो र उहाँकी पत्नी समेत यसअघि नै कोरोनाभाइरसबाट संक्रमित भइसक्नुभयो । ३ साताको उपचारपछि निको हुनुभएका बोल्सोनारोले कोरोना र यसको खोपबारे लगातारविवादास्पद अभिव्यक्ति दिँदैआउनुभएको छ । एजेन्सी ।