जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १६:४८

सरकार, प्रतिपक्ष र जंगलमा रहेको विप्लव नबिग्रिए देश बन्छ : कांग्रेस प्रवक्ता शर्मा


गुल्मी, जेठ २०

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले आगामी निर्वाचन जित्ने दावी गर्नुभएको छ । इतिहासमा एकपछि अर्को लगातार चुनाव नहारेको स्मरण गराउँदै शर्माले अबको चुनाव कांग्रेस नहार्ने दावी गर्नुभएको हो ।

कांग्रेस कहिल्यै जितेर मात्तिने र हारेर आत्तिने पार्टी नभएको पनि बताउनु भयो । कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तरगत आज नेपाल तरुण दल र नेपाल विद्यार्थी संघद्वारा आयोजित बृहत आम सभामा शर्माले सत्तामा रहेको सरकार, प्रतिपक्ष र जंगलमा रहेको विप्लव नबिग्रिए देशले शान्ति प्राप्त गर्ने बताउनु भयो । ‘सत्तामा रहेको सरकार, प्रतिपक्ष र जंगलमा रहेको विप्लव नबिग्रिए देशले शान्ति प्राप्त गर्छ, देश बन्छ,’ शर्माको भनाई थियो ।

उहाँले विश्वमा स्वतन्त्रता दिवस नमनाउने नेपाल कसैको दास नभएको पनि प्रष्ट पार्नुभयो । प्रवक्ता शर्माले प्रेस स्वतन्त्रता कोही व्यक्ति वा दलको कृपाले प्राप्त नभएको बताउनु भयो । पत्रकारको कलम बन्द भए सरकार निरंकुश र अधिनायकवादी हुने उल्लेख गर्दै मिडिया काउन्सिल बिधेयक ल्याएर पत्रकारको टाउकोमा तरबार नझुण्ड्याउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारले यो निर्णय नसच्याए प्रेस स्वतन्त्रता र देशका कैयौं परिवर्तनका निम्ति बलिदानी दिने पत्रकारको अपमान हुने बताउनु भयो ।