काठमाडौं, पुस १४ । काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ, यो न्यूनतम तापक्रमा यस वर्ष लागेपछि अहिलेसम्मकै सबैभन्दा कम हो । मौसमविद् सजिना शाक्यका अनुसार रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । यसअघि यस वर्ष काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।
गएको शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो (सोमबार) र अस्ति (आइतबार) मौसम बदली भएकाले तापक्रम बढ्दा काठमाण्डौमा केही न्यानो थियो । आज (मङ्गलबार) अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यस्तै अहिले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । बिहान लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार आज राति भने सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । अन्य क्षेत्रको मौसम भने सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस्