केपी ओली मर्छ भनेर उहाँहरुले भविष्यवाणी गर्नुभयो, तर म मरिन । उपचार गर्न बैंकक जाँदा बाकसमा फर्किन्छ भनेर भविष्यवाणी गर्नुभयो म सिटमा बसेर फर्किएँ । अप्रेशन गर्न अस्पताल भर्ना भएँ । त्यसबेला पनि फर्कदैन भनेर भविष्यवाणी गर्नुभयो । त्यो पनि मिलेन
काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल, प्रचण्डलगायतका नेताहरुले आफू मरोस भनेर तीन पटकसम्म मृत्युको कामना गरेको तथ्य खोल्नुभएको छ । पार्टी एकता गर्दाको समयमा आफू अस्वस्थ रहेको र उपचारको लागि अस्पताल जाँदा हरेक पटक मृत्युको भविश्यवाणी गरेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो तथ्य खोल्नुभएको हो । आफ्नो मृत्युको भविश्यवाणीमा फेल भएपछि भने प्रचण्ड र माधव नेपालहरु अनेक तिकडम गरेर पार्टी बिभाजनमा लागेको उहाँको भनाई छ ।
‘केपी ओली मर्छ भनेर उहाँहरुले भविष्यवाणी गर्नुभयो, तर म मरिन । उपचार गर्न बैंकक जाँदा बाकसमा फर्किन्छ भनेर भविष्यवाणी गर्नुभयो म सिटमा बसेर फर्किएँ । अप्रेशन गर्न अस्पताल भर्ना भएँ । त्यसबेला पनि फर्कदैन भनेर भविष्यवाणी गर्नुभयो । त्यो पनि मिलेन,’ सुदूर पश्चिमका पार्टी अगुवा कार्यकर्ताहरुको राजधानीमा आयोजित भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले भन्नुभयो ।
प्रचण्ड–माधवलगायतका केही नेताले पार्टी र सरकारलाई कामै गर्न नदिएको तथ्य पनि उहाँले राख्नुभयो । ‘केही मानिस अगाडि जाने डुंगाको यात्रा गर्न चढ्नुभएन, डुंगा अगाडि बढ्न पनि दिनुभएन । तानेर, समातेर राख्नुभयो । उहाँहरुले पछाडि फर्काउन सक्नुभएन, डुंगा अगाडि बढ्यो, उहाँहरु पछि छुटुनभयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । नेकपाबाट छुट्टिएर गएको सो समुहमा देश र जनताको चिन्ता हुँदै नभएको उहाँले बताउनु भयो । ‘जसको ध्यान आफूमा मात्र छ, मलाई मान गरेनन, अपमान गरे मात्र भन्छ । जसको ध्यानै त्यतिमा छ, देशको ध्यान कसरी हुन्छ ? उहाँहरुको धेरै टिप्पणी गरिरहन चाहँदिन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले पार्टी एकीकरणमा प्रचण्ड इमान्दार नभएको तथ्य पनि खोल्नुभयो । ‘प्रचण्डजीसँग एकताको प्रस्ताव राखें । कांग्रेससँग मिलेर चुनाव लडेर छोरी जिताउनुभयो, मतपत्र च्यातेर धुजाधुजा पार्नुभयो । खासै उपलब्धी केही भएन । हामी मिलौं भने । मिलेर चुनाव लडौं भन्ने कुरा उहाँलाई असाध्यै राम्रो लाग्यो, सुनौं सुनौं लाग्यो । ४० प्रतिशत दिन्छु भनें । साह्रै राम्रो र सुन्दर कुरा लाग्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
आफूहरुसँग गठबन्धन गरेका प्रचण्डले चुनावपछि भने कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको तथ्य पनि प्रधानमन्त्री ओलीले खोल्नुभयो । मंसिर २४ मा चुनावको मत परिणाम आयो तर निर्वाचन आयोगबाट १० मिनेट दूरीमा रहेको राष्ट्रपति कार्यालयमा नतिजा पुग्न दुई महिना लागेको प्रसंग पनि उहाँले सुनाउनुभयो । ‘मैले हेरिराख्या थिएँ, के खिचडी पाकिरहेको छ । चुनाव मसँग मिलेर लड्ने, ४० प्रतिशत लिएर लड्ने । कमलाकमला मिठा मिठा सिट छानेर खाने । अनि सरकार बनाउन कांग्रेससँग मिल्ने, हामीसँग वार्गेनिङ गर्ने,’ प्रधानमन्त्री ओलील भन्नुभयो । वामपन्थीसँग मिलेर चुनाव लड्ने दक्षिणपन्थीसँग मिलेर सरकार बनाउने प्रयास प्रचण्डले गरेको ओलीको भनाई थियो ।
‘म मित्रताको अंगालो हाल्छु , उहाँ घृताराष्टको जस्तो अंगालो हाल्नुहुन्छ । उहाँको ध्यान कसरी कब्जा गर्ने, कसरी गलहत्याउने मात्र थियो । मैले उहाँलाई षडयन्त्रकारी प्रवृत्ति छाड्नुस, जालझेल, षडयन्त्र र तिकडमको राजनीति छाड्नुस भने, तर मान्दै मान्नुभएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रचण्डलाई तीन वर्ष निरन्तर धोई पखाली गरेको तर जति धोए पनि जस्ताको तस्तै भएको पनि उहाँले सुनाउनुभयो । ‘तीन वर्षमा मेरा डोभ साबुनका धेरै डल्ला खर्च भो, स्याम्पु धेरै खर्च भयो, पानी धेरै खत्तम भयो उहाँलाई धुँदाधुँदा । साबुन लगायो, पखाल्यो तर जस्ताको तस्तै,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँलेप्रचण्डसँग गरिएका सम्झौता आफूसँग एक व्रिफकेश भएको तथ्य पनि खोल्नुभयो । प्रधानमन्त्री ओलीले माधव नेपालको हैसियत अव प्रचण्डको एक जना कार्यकर्तामा सिमित भएको बताउनु भयो । ‘माधव नेपालको सम्बन्धमा केही टिप्पणी नै गर्नु छैन । उहाँ प्रचण्डको एउटा कार्यकर्ता मात्रै हो । उहाँ कार्यकर्ता हुन जानुभएको छ । मलाई पदको लोभ छैन भन्नुहुन्छ । मलाई पद चाहिँदैन भन्नुहुन्छ । तर मलाई उधारो हुँदैन, उधारो म पत्याउँदिन पनि भन्नुहुन्छ,’ प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री ओलीले पार्टी फुटाउन दुइटा अध्यक्ष नचाहिने पनि प्रष्ट पार्नुभयो । ‘आन्दोलन एकीकृत गर्न पो दुईटा अध्यक्ष बनाएका थियौं, फुटाउन पनि दुईटा अध्यक्ष चाहिन्छ र ?’ उहाँको प्रश्न थियो ।
प्रधानमन्त्री ओलीले चुनाव हुन्न भन्नेहरुको भ्रममा कोही पर्न नहुने बताउनु भयो । ‘अब चुनाव हुन्छ । तर, उहाँहरु चुनाव हुँदै हुँदैन भन्नुहुन्छ । बैशाखको चुनावमा ओलीको पत्तासाफ रे । चुनाव नहुने भए कसरी पत्तासाफ ? म उहाँहरुलाई भन्न चाहन्छु तपाईंहरुले पनि केही सिट ल्याउनुस । शुभकामना छ । त्यसका लागि अहिलेदेखि तयारी गर्नुस । पिच सडकमा बसेर कपडा नबिगार्नुस,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्