जनता टाइम्स

१९ पुष २०७७, आईतवार १२:२७

राष्ट्रपतिविरुद्ध अशोभनिय नारा लगाउने प्रचण्ड–नेपालका कार्यकर्तालाई हुने भयो कारबाही


काठमाडौँ, पुष १९

अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो । लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिकोविरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताउनुभयो । उहाले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएको पनि स्पष्ट पार्नुभयो । सरकारविरुद्धको प्रर्दशनका क्रममा प्रचण्ड–माधव नेपाल पक्षका नेता कार्यकर्ताले निक्कै भद्दा नारा लगाएका थिए । जसको सर्वत्र आलोचना भईरहेको छ भने कारवाहीको माग पनि जोडदार उठेको छ । नाराबाजी गर्नेविरुद्ध कानुनी कारबाही गरिनुपर्ने अन्यथा आफूहरु नै कानुनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ सर्मिला कार्कीले बताउनु भयो ।