जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार ०९:१०

आईसीसी विश्वकप : पाकिस्तानले इंग्ल्याण्डलाई हरायो


काठमाडौं ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकाल्द घरेलु टोली इंग्ल्याण्ड भने पराजित भएको छ । नटिङ्घमको ट्रेन्ज ब्रिज स्टेडियममा भएको खेलमा पाकिस्तानले इंग्ल्याण्डलाई १४ रनले हराएको हो ।

३४९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ५० ओभरमा नौ विकेट गुमाउँदा तीन सय ३४ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको इंग्ल्याण्डले १२ रनमा पहिलो विकेट गुमायो । त्यसपछि उसको स्कोर ६० रन हुँदा दोस्रो विकेट झर्यो । सुरुवाति खेलाडीले राम्रो खेल्न नसक्दा इंग्ल्याण्डले एक सय १८ रनमा चार विकेट खेर फाल्यो । इंग्ल्याण्डका ओपनर जेसोन रोय ८ रनमा आउट भए भने जोनी बेयरस्टो ३२ रनमा पेभेलियन फर्किए ।
तर पाँचौ विकेटका लागि जोय रुट र जस बट्लरले एक सय ३० रनको साझेदारी गर्दै पारि सम्हालेका थिए ।

जसमा रुट र बट्लरले शतकीय पारी खेले । रुट एक सय चार बलमा १० चौका र एक छक्काको मद्दतमा एक सय सात रन बनाउँदा आउट भएपछि इंग्ल्याण्डले दुई सय ४८ रनमा पाँचौ विकेट गुमायो । त्यसपछि जस बटलरले पनि शतक प्रहार गरे । विश्वकपमा कम बलमा शतक बनाउने पहिलो इंग्ल्याण्डको खेलाडी बनेका बट्लरले ७५ बलमा शतक बनाएका थिए । जसमा उनले नौ चौका र दुई छक्का प्रहार गरे । तर एक सय तीन रनमा आउट भएपछि इंग्ल्याण्ड ठूलो दबाबमा परेको थियो ।

त्यसपछि मोइन अलीले १९ र क्रिस वक्सले २१ रन थपेका थिए । इंग्ल्याण्डलाई अन्तिम ओभरमा जितका लागि २५ रन चाहिएको थियो । तर उसले पूरा गर्न सकेन । बलिङमा पाकिस्तानका सादाब खान र मोहम्मद आमिरले दुई तथा वहाब रियाजले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ४८ रन बनायो । उसले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । उसका फखर जमानले ३६ रन बनाए भने इमाम उल हकले ४४ तथा बाबर आजमले ६३ र मोहम्मद हफीजले ८४ रन थपे । यस्तै कप्तान सरफराज अहमदले ५५ रनको योगदान गरे । पहिलो विकेट गुमाएपछि दोस्रो विकेट पनि सस्तैमा गुमाएको पाकिस्तानका लागि आजम र हफीजले तेस्रो विकेटका रुपमा ८८ रनको साझेदारी गरे ।

त्यसपछि चौथो विकेटका लागि हफीज र सरफराजले ८० रनको साझेदारी गरेपछि पाकिस्तान बलियो लक्ष्यतिर अगाडि बढेको थियो । इंग्ल्याण्डका लागि क्रिस वोक्स र मोइन अलीले ३–३ विकेट लिए । त्यस्तै मार्क वुडले २ विकेट लिए । पाकिस्तानको ११ एकदिवसीय खेलपछि यो पहिलो जित पनि हो ।