जनता टाइम्स

२० पुष २०७७, सोमबार १७:२२

भारत गएका प्रचण्डलाई उपप्रम पोखरेलको सुझाव : अन्तै ध्यान दिएर सिताजीको उपचारमा अलमल नहोस


काठमाडौं, पुस २० । उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले पत्नीको उपचारका लागि भारत जानुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई अन्त नअल्मिलीकन उपचारमा ध्यान दिन सुझाउनु भएको छ । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज भारत प्रस्थान गरेपछि सामाजिक सञ्जालमार्फत उपप्रम पोखरेलले यस्तो सुझाव दिनुभएको हो ।

दुई सातादेखि नेकपाभित्रको बिवाद बढदै जाँदा पार्टी नै बिभाजन भएको छ । पार्टी बिभाजनपछि प्रचण्डले बरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो साथमा लिनुभएको छ । अहिले दुवै पक्ष एक अर्काप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेको र केही दिनअघि प्रचण्डले नै नेकपाभित्रको समस्यामा भारतको सहयोग माग्नुभएको थियो । सोही प्रसंगलाई उल्लेख गर्दै पोखरेलले पत्नी सीताकै उपचारमा दत्तचित्त भएर लाग्न प्रचण्डलाई सुझाउनु भएको हो ।

‘ हालै भारतीय संचार माध्यमहरूले ‘प्रचण्डले नेपालमा देखापरेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखापरेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे …” भन्ने समाचारसित जोडिएर सिताजीको उपचारमा कहिंकतै अलमल नहोस भन्ने सुझाव दिन चाहान्छु ।सिताजी चाँडै स्वास्थ्यलाभ गरी फिर्नुहोस,’ पोखरेलले भन्नुभएको छ ।

यस्तो छ सुझाव
आज कमरेड पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘गंभीर अस्वस्थ्यता झेलिरहेकी आफ्नी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गर्नुभएको छ । सीताजीको स्वास्थ्य लाभको कामना !
हालै भारतीय संचार माध्यमहरूले ‘प्रचण्डले नेपालमा देखापरेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखापरेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे …” भन्ने समाचारसित जोडिएर सिताजीको उपचारमा कहिंकतै अलमल नहोस भन्ने सुझाव दिन चाहान्छु ।सिताजी चाँडै स्वास्थ्यलाभ गरी फिर्नुहोस– हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु !