जनता टाइम्स

२० पुष २०७७, सोमबार १९:४६

प्रचण्डको लाचार छाँया बने माधव नेपाल, पोखरेल र गुरुङ हटाउँदा खोसियो पूर्वएमालेको भाग


काठमाडौं, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षले लुम्बिनी र गण्डकी प्रदेशका इञ्चार्जबाट शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई हटाएको छ ।

आज सम्पन्न सो समुहका स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्ज रहनुभएका गुरुङको ठाँउमा पूर्वमाओवादी नेता देवेन्द्र पौडेललाई इञ्चार्जको जिम्मेवारी दिएको छ । यस्तै लुम्बिनी प्रदेश इन्चार्ज पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई जिम्मा दिइएको छ । गुरुङ र पोखरेल संस्थापन पक्षधर नेता हुनुहुन्छ ।

बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ । प्रदेश कमिटी सचिव गोविन्द नेपाली केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षमा लागेपछि थकालीलाई ल्याइएको हो । बिगत एक बर्षदेखि पार्टी बिभाजनको खाका बनाएर बसेको सो समुहले ओली पक्षका ९ प्रदेश पदाधिकारीलाई हटाउन छलफल जारी राखेको छ ।

बैठकमा प्रदेश १, २, वागमती, कर्णाली र सुदुरपश्चिमका बारेमा भने केही निर्णय गरेको छैन । यी प्रदेशका ९ प्रदेश पदाधिकारी ओलीतिर लागेकाले प्रचण्ड–माधव पक्षले त्यहाँ आफ्ना पक्षबाट नेतृत्व चयन गर्ने गृहकार्य अघि बढाएको छ । प्रदेश १ का अध्यक्ष देवराज घिमिरे ओलीतिर लाग्नुभएको छ भने प्रदेश २ का इन्चार्ज सत्यनरायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल पनि ओली पक्षतिरै हुनुहुन्छ ।

यस्तै वागमती प्रदेशका सचिव आनान्द पोखरेल, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी र सह इन्चार्ज यमलाल कडेँल पनि ओली पक्षतिर लाग्नुभएको छ । यसैगरीसुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सहइन्चार्ज लेखराज भट्ट पनि ओली पक्षतिरै हुनुहुन्छ । प्रचण्ड माधव समुहले ओली नेतृत्वको संस्थापनतिर लागेका पदाधिकारीको ठाउँमा आफू निकट नेतालाई ल्याउने अन्तिम गृहकार्य भइरहेको छ ।