जनता टाइम्स

२१ पुष २०७७, मंगलवार १६:५४

मणि थापाको ठोकुवा : प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिन्छ


सुर्खेत, पुस २१ । खानेपानी मन्त्री मणिचन्द्र थापाले ताजा जनादेशका लागि चुनावमा जानु अग्रगामी कदम भएको बताउनुभएको छ । प्रेस संगठन नेपाल सुर्खेतल आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगामी भएको ठोकुवा गर्नुभयो ।

‘कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली सङ्कटमा पर्यो भने चुनावमै जाने हो, त्यसैले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्न सकिन्न, ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगामी कदम नै हो, यो सच्चाइप्रति कोही भ्रममा पर्नुहुन्न,’ नेकपा स्थायी कमिटी सदस्य तथा कर्णाली इञ्चार्जसमेत रहनुभएका मन्त्री थापाले भन्नुभयो ।
प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने ठोकुवा पनि उहाँले गर्नुभयो ।

राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानुको विकल्प नभएको भनाई मन्त्री थापाको थियो ।मन्त्री थापाले नेकपा गम्भीर सङ्कटमा फसे पनि विभाजन भइनसकेको बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा देखिएको सङ्कट समाधान हुने सम्भावना कायमै रहेको बताउनु भयो । उहाँले औपचारिक रुपले पार्टी विभाजन नभइसकेकाले नेता–कार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको बताउनुभयो ।

प्रदेश सरकार फेरबदलबारेमा कुनै प्रकारको छलफल नभएको जानकारी पनि उहाँले दिनुभयो । ‘अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन,’ मन्त्री थापाले भन्नुभयो ।