जनकपुर , पुस २१ । नेपाल कम्यनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले आज जनकपुरमा शक्ति प्रदर्शन गरेको छ । मधेशविरोधी आरोप खेपिरहेका प्रधानमन्त्री ओली पक्षले जनकपुरमा शक्ति प्रदर्शन गरेको हो ।
अहिले ओली सरकारमा प्रदेश २ का तीन मन्त्री रहनु भएको छ । पूर्व माओवादी नेता प्रभु साहसमेत लागेपछि ओली पक्षीय नेकपाप्रति जनकपुरवासीको आकर्षण बढेको हो । जनकपुरको रेल्वे स्टेशन परिसरबाट शुरु गरेको प्रदर्शनमा ओली समूहका प्रदेश सांसदहरु, मेयर र उपमेयरहरु सहभागी छन् । प्रदर्शन नेकपा प्रदेश कार्यालय मिथिला भवनमा पुगेर सभामा परिणत भएको छ । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु जुली महतो, लीलानाथ श्रेष्ठ र प्रभु साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्ड–नेपाल समूहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई आजै हटाउने बताएको छ । नेकपाका प्रदेश इन्चार्जसमेत मण्डल ओली समूहमा हुनुहुन्छ ।

पार्टी फुटाउन पाइँदैन भन्दै नेकपाका नेता कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका हुन् । रेल्बे स्टेशनबाट निकालिएको र्याली भानु चोक, शिब चोक, जनक चोक हुँदै पार्टी कार्यालय पुगेको छ । प्रदर्शनका क्रममा उनीहरुले ‘पार्टी एकता जिन्दावाद, पार्टी फोड्न पाइँदैन, केपी ओली जिन्दावाद, संसद बिघटन बाध्यकारी हो, आज होइन भोलिलाई, १० बर्ष ओलीलाई’ जस्ता नारा लगााएका छन् ।













प्रतिक्रिया दिनुहोस्