जनता टाइम्स

२३ पुष २०७७, बिहीबार १३:३८

दुई वर्षे कार्यकाल पुरा भए लगत्तै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड–नेपालको गृहकार्य रहेको बामदेवद्वारा खुलासा


काठमाडौं, पुष २३

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफ्नै दलका नेतामाथी संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउनु प्रचण्ड–नेपाल पक्षको महाभूल भएको बताउनु भएको छ । उहाले आफु पार्टीभित्र प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोध गुटमा भएपनि अविश्वासको प्रस्ताव ल्याउन पटक पटक रोकेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय सभा बैठकलाई पहिलो पटक सम्बोधन गर्दै उहाले आठ नौ महिना पहिलादेखी अविश्वासको प्रस्ताव ल्याउन खोजेपनि असफल बनाएको बताउनु भयो । ‘अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने यस्तो किसिमको काम होला भनेर सोचेको थिइन्’, उहाले अगाडी भन्नुभयो, ‘गएको आठ नौ महिना देखि मैले निरन्तर आलोचना गर्ने समुहमा बसेर पनि पार्टी एकता जोगाउनका निम्ति अविश्वासको प्रस्तावलाई असफल गराएको थिए । म त्यसमा सामेल हुन सक्दैन भनेको थिए ।’ यद्यपी उहाले किन त्यो प्रस्ताव त्यसबेला आउन सकेन भनेर चाँही खुलाउनु भएन ।

पछिल्लो पटक आएको अविश्वासको प्रस्तावका विषयमा आफुलाई थाहा नदिएको गुनासो पोख्नुभयो । प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । नेता गौतमले ऋषि कट्टेलको नेकपाको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट कट्टेलको पक्षमा निर्णय भएमा नेकपाको एउटा पक्ष एमाले र अर्को पक्ष माओवादी केन्द्र बन्न सक्ने बताउनु भयो । आफू फेरि पनि एकता कायम गर्न लागिरहेको र त्यसका लागि संगठनको संरचना बनाएरै जाने जानकारी गराउनु भयो ।

‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदम हो’, गौतमले भन्नुभयो, ‘सर्वोच्चको संवैधानिक इजलासमा लगेपछि यो संवैधानिक विषय हो, यसमा असंवैधानिक कदम भन्न मिल्दैन, यसो भनियो भने संविधानविरुद्धमा हुन जान्छ। असंवैधानिक भन्यो भने राजनीतिक रुपमा अपमान हुन्छ।’ उहाले अदालतले पुनःस्थापना गरिदिए पनि यो कदम असंवैधानिक भन्न नमिल्ने बताउनु भयो ।