जनता टाइम्स

२४ पुष २०७७, शुक्रबार २०:५५

साझा प्रकाशनको अध्यक्षमा साहित्यकार डा. विजय सुब्बा भारी मतका साथ निर्वाचित


काठमाडौं, पुष २४

साझा प्रकाशन, सञ्चालक समितिको अध्यक्षमा साहित्यकार डा. विजय सुब्बा निर्वाचित हुनु भएको छ । शुक्रबार गरिएको मतगणनाको क्रममा खसेको ६४३ मत मध्ये सुब्बाले ४१२ मत ल्याउनु भएको थियो ।

साहित्यकार सुब्बा यसअघि पनि साझा प्रकाशनको सञ्चालक समिति सदस्यको रुपमा काम गरिसकेका व्यक्ति हुनुहुन्छ । उहा नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाका निकटतम प्रतिद्धन्दी प्रजातान्त्रिक खेमाका जीवनचन्द्र कोइरालाले केवल १८३ मत ल्याउनु भयो । ४८ मत बदर भएको सञ्चालक समितिका नवनिर्वाचित सदस्य डोरप्रसाद अर्यालले जानकारी दिनुभयो ।

जम्मा १४५७ जना सेयरधनीले मतदान गर्न पाउने थिए । अध्यक्षबाहेकका ३ जना सञ्चालकहरू यसअघि नै निर्विरोध चयन भइसकेका थिए जसमध्ये महिलातर्फ सीता कुमारी ओझा, खुल्लातर्फ डोरप्रसाद अर्याल र हरिप्रसाद भण्डारी निर्विरोध चयन हुनु भएको थियो ।

साझा प्रकाशनको विनियम अनुसार ३ वर्षमा पदाधिकारी निर्वाचित गर्नैपर्ने प्रावधान छ । पछिल्लो सहकारी नियमावली २०७५ अनुसार पनि २०७५ असार मसान्तभित्र साधारणसभा गरिसक्नुपर्ने उल्लेख थियो ।