जनता टाइम्स

२५ पुष २०७७, शनिबार १४:४४

दाहाल–नेपाल पार्टीको सदस्य बनेर चुनाव लड्न आउनुस् : पूर्वप्रधानन्यायाधीशहरुलाई नेता बास्कोटाको चुनौती


काठमाडौं, २५ पुस । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेका चारजना पूर्वप्रधानन्यायाधीशहरुलाई चुनाव लडेर राजनीति गर्न चुनौती दिनुभएको छ । काभ्रेमा शनिवार भएको पार्टी भेलामा बोल्दै बाँस्कोटाले माधव–प्रचण्डले गठन गरेको पार्टीको सदस्य बनेर चुनाव लड्न आउन चुनौती दिनु भएको हो । ‘श्रीमानहरुलाई राजनीति गर्न मन लागेको भए दाहाल–नेपाल समूहको अलोकतान्त्रिक कित्ताको सदस्य भएर चुनाव लड्न आउँदा हुन्छ ।’ सर्वोच्चमा विचराधीन मुद्दाको फैसला सर्वोच्चले सुनाउने भएकाले सडकबाट फैसला नसुनाउन पनि उहाँले चेतावनी दिनुभयो । ‘भूतपूर्वहरुले फैसला गर्ने हैन वर्तमानले गर्ने हो,’ उहाले भन्नुभयो , ‘अहिलेसम्मको विधि त त्यही होला नि श्रीमानहरु ?’

सर्वोच्च अदालतका चार पूर्वन्यायाधीशहरु मीनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले हिजो प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।