जनता टाइम्स

२६ पुष २०७७, आईतवार १२:५७

विराटनगर आउँदै गरेका युवक बसभित्रै मृत भेटिए


विराटनगर, पुस २६

झापाको केरखाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृत भेटिएका छन् । आज बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् । उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए । विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी नउत्रिएपछि बसका कर्मचारीले हेर्दा मृत भेटिएएका हुन् ।

मृत भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनुभयो । उहाँका अनुसार युवक मिर्गौला रोगी थिए र उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए ।

बसको सिटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा पनि सोही बसमा आउजाउ गर्दै आएका थिए । बसभित्रै मृत भेटिएका युवकको साथमा रहेको मोबाइलबाट प्रहरीले आफन्तलाई खबर गरेको थियो ।