जनता टाइम्स

१ माघ २०७७, बिहीबार १५:३१

पार्टी फुटाउनुअघि प्रचण्ड-माधवबीच लिखित संझौता भएको खुलासा, यस्तो छ माधवको बाचाकबोल


काठमाडौं, माघ १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तात्कालिन एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीसँग पराजीत हुनुपरेको बदला नेकपामाथि लिएको स्वीकार गर्नुभएको छ । नेता नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अस्थीर स्वभावलाई उपयोग गरी अर्काे महाधिवेशनसम्म पुग्नै नदिई केपीलाई हारको बदला लिएको आफू निकटहरुलाई बताउनु भएको हो ।

नेपाल निकट स्थायी कमिटीका एक सदस्यका अनुसार पार्टी एकताकै दिनदेखि माधवले केपी ओलीसँग नवौं महाधिवेशनमा पराजीत भएको बदला लिने योजना अघि बढाउनु भएको थियो । सुरुमा पार्टी एकता नै नहोस भनेर लागेपनि केही सिप नचलेको भन्दै नेपालले आफू निकटसँग ‘ओलीले हामीलाई झुक्याएर पार्टी एकता गरेको’ बताउँदै आउनु भएको थियो । पछिल्लो समय भने उहाँले प्रचण्डलाई नै प्रयोग गरेर ओलीमाथि बदला लिएको स्वीकार गर्नुभएको हो । ती नेताका अनुसार माधवले ओलीसँग बदला लिन गत बैशाखतिरै प्रचण्डसँग लिखित संझौता गरिएको खुलासा गर्नुभएको छ ।

‘ओलीलाई समाप्त पार्न प्रचण्डसँग लिखित संझौता नै गरेको छु, त्यो संझौतामा मलाई प्रधानमन्त्री पनि चाँहिदैन, पहिलो अध्यक्ष पनि चाँहिदैन, ओली हटाएर मलाई राख्ने हो भनेर किटान गरिएको छ,’ प्रचण्डसँगको सहमतिबारे माधव आफैले खोलेको तथ्य राख्दै ती नेताले जनताटाइम्ससँग भने । उनका अनुसार सहमतिमा पूर्वएमालेतिरका झलनाथ खनालदेखि अन्य युवा नेताका बिषयमा समेत उल्लेख गरिएको छ । जहाँ ओली सरकारमा पछिल्लो पटक मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराईको जिम्मा नलिने बाचाकबुल गरिएको छ ।

नेता नेपालले आफ्नो कोर टीमसँग खुलासा गरेअनुसार पार्टीमा देखाउन मात्रै भएकोले झलनाथलाई राष्ट्रपति बिद्या भण्डारीमाथि महाअभियोग लगाएर सो स्थानमा पुर्याउने भन्दै फकाइएको छ भने खनाल निकट अन्य नेताहरु नरहेको र आए पनि काम नलाग्ने निश्कर्ष प्रचण्ड र नेपालले निकाल्नुभएको छ । प्रचण्ड र माधवबीच भएको लिखित सहमतिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुजी पन्त, सोमप्रसाद पाण्डे (सम्धी) को भने बिशेष जिम्मेवारी हुने सहमति रहेको छ । ‘प्रचण्डसँग लिखित संझौता गरेर नै माधव कमरेड केपीबिरुद्ध बैशाखबाटै लाग्नुभएको थियो, भदौं २६ मा बामदेव–योगेशहरुकै कारण झुक्न बाध्य भइयो, अहिले मिसन सफल भयो,’ माधवको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने ।

प्रचण्डले समेत आफू निकट केही नेतासँग माधवले पहिला नै लिखित गरेर आफूलाई कहिल्यै धोका नदिने बाचाकबोल गरेको जानकारी दिनुभएको छ । ‘माधवलाई उपयोग गरेर पूर्वएमालेको नेता–कार्यकर्ता चोर्ने हो, अलिक समयपछि यता मिसिएको त हो नि भनेर यही संझौता देखाइ दिने हो, उता फर्कनै नसक्ने अवस्थामा पुर्याएपछि माधव यही हाम्रो कुरा मानेर बस्नुको बिकल्पै रहन्न,’ संझौताबारे प्रचण्डको भनाई उधृत गर्दै उहाँ निकट एक सदस्यले भने । ती नेताका अनुसार प्रधानमन्त्री ओलीले दुई बर्ष कार्यकाल पूरा गरेपछि र मृगौला प्रत्यारोपन सफल भएपछि प्रधानमन्त्रीबाट हटाउने निर्णयसहित प्रचण्ड र माधवले लिखित संझौता गर्नुभएको हो । सो संझौता दुई नेताबाहेक अरुसँग छैन ।

स्रोतका अनुसार प्रचण्डले माधवसँग कुरा गर्दा सतर्क रहन आफू निकट सवैलाई भनेका छन । माधवले ओलीसँगको धेरै कुराकानी आफूलाई रेकर्ड गराएर सुनाएको भन्दै माधवसँग हिमचिम धेरै नगर्न आफू निकट नेताहरुलाई भन्नुभएको हो ।