जनता टाइम्स

४ माघ २०७७, आईतवार १६:०१

पार्टी कब्जा गर्न आएका प्रचण्ड नसकेपछि उतै फर्किए : प्रधानमन्त्री ओली


काठमाडौं, माघ ४

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्न नसकेपछि फर्किएको टिप्पणी गर्नुभएको छ । उहाले पार्टी कब्जाको नीति लिएपछि त्यसलाई आफुले विफल बनाएको बताउनु भएको हो ।

अखिल नेपाल महिला संघको केन्द्रीय समितिको दोस्रो बैठकमा सहभागी महिला नेतालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण फर्किएको स्पष्ट पार्नुभयो । उहाले प्रचण्डलाई पार्टी कब्जा गर्नवाट आफूले जोगाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रचण्डलाई चटकेको संज्ञा दिदै उहाले भन्नुभयो, ‘प्रचण्ड चटके छन्, माधवकुमार नेपाल उनका मामुली कार्यकर्ता हुन् ।’ प्रधानमन्त्री ओलीले माधव नेपाललाई पनि प्रचण्डले छक्याएको बताउनु भयो । ‘तपाई नै अन्तिम वक्ता हो पार्टीको अध्यक्ष भइसक्नुभयो भन्दै झुक्याउँदै छन् भोलि के गर्छन हेर्दै जानुहोला ।’

उहाले जनयुद्ध कुहिएको फर्सी भन्दै गरेको टिप्पणीको पनि स्पष्टीकरण दिनुभएको छ । ‘मैले पूर्व माओवादी आन्दोलनमा लागेकाहरुलाई भनेको होइन, ठूला सपना देखाएर महान क्रान्ती भन्दै लाखौं युवालाई सहभागी गराउने प्रचण्डलाई भनेको हुँ’, उहाको भनाई थियो । प्रधानमन्त्री ओलीले वहिर्गमनमा परेका लडाकुहरुलाई यथोचित ब्यवस्था सरकारले गर्ने घोषणा समेत गर्नुभयो ।