जनता टाइम्स

४ माघ २०७७, आईतवार १८:३१

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री साहको यस्तो निर्देशन


काठमाडौं, माघ ४

शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मन्त्री साहले एक परिपत्र जारी गर्दै मन्त्रालय मातहतका निकायहरूबाट सम्पूर्ण आयोजनाहरुको विस्तृत विवरण माग गर्नुभएको हो ।

कुनै पनि परियोजना ठेक्का गर्दा ठेकेदारले पेश गरेको कार्यतालिका बमोजिम काम भए नभएको तथा त्यसमा सम्बन्धित निकायको तर्फबाट भएका कामकारवाहीको विवरण १५ दिन भित्र मन्त्रालय पठाउन निर्देशन दिइएको हो ।

खरिद सम्झौता गरेबमोजिम काम नभई रुग्ण बनेका आयोजनालाई रुग्ण हुन नदिन गरिएका प्रयास तथा ठेकेदारलाई नियम बमोजिम कारवाही लगायतका कार्यको विवरण समेत माग गरिएको मन्त्रालयका एक कर्मचारीले बताउनुभयो ।

कुनै पनि आयोजना खरिद सम्झौता भएपछि ठेकेदारले कार्य सम्पन्न गर्ने कार्यतालिका पेश गरेको हुन्छ । सोही बमोजिम तोकिएको समयभन्दा अगावै काम सकाए प्रोत्साहन रकम तथा ढिलाई गरे १० प्रतिशतसम्म हरजाना तिराउनुपर्ने व्यवस्था छ ।

काममा ढिलाई भए सुरुमा ताकेता पत्र काट्ने, त्यसपछि मोबिलाइजेसन रकम कट्टा गर्न, अझ अटेर गरे धरौटी रोक्का गर्ने र अन्तिममा ठेक्का रद्द गर्ने प्रक्रिया सरकारी पक्षले अपनाउनुपर्ने हुन्छ । तर प्रायजसो आयोजनामा कुनै प्रक्रिया नै नअपनाई रुग्ण भएको पाइन्छ ।

निर्देशन पछि प्राप्त हुने विवरणबाट आयोजनाहरुको स्थिति र शहरी मन्त्रालय मातहतका निकायको क्षमता तथा कार्यकारवाहीको स्थिती पनि थाहा हुने विश्वास मन्त्री साहको छ । सोही बमोजिम निर्माण कार्यलाई प्रभावकारी बनाउन कदम चाल्ने तयारीमा मन्त्री साह रहेको मन्त्रालय निकट स्रोतले बताएको छ ।