जनता टाइम्स

५ माघ २०७७, सोमबार १८:५२

कृषिमन्त्री अर्यालको अठोट : अव मलको अभाव हुन दिन्नौं, किसानहरुको वर्गीकरण गरी कृषि कार्यक्रमलाई व्यवस्थित गर्छौं


काठमाडौं, माघ ५ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताउनुभएको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले भन्नुभयो, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडि बढाउछौं । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडि बढ्छ ।’ किसानहरुको हकहितका निम्ति स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने बताउदै उहाँले किसानहरुको हकहितका निम्ति गठन भएको आयोग अहिलेको अवस्थाले मात्र उस्को उद्देश्य पुरा गर्न नसक्ने बताउनुभयो ।

कृषि मन्त्रालयमार्फत वितरण गरिदै आएको अनुदानका कार्यक्रमहरु परिमार्जन गरिने जानकारी पनि दिनुभयो । उहाँले कतिपय अनुदानलाई बन्द नै गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । अनुदानका कार्यक्रमहरु जतिपनि सञ्चालन भएका छन, तीमध्ये कतिपयलाई परिमार्जत गर्नुपर्नेछ । कतिपय कार्यक्रम बन्द नै गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘अहिले जसरी अनुदान कार्यक्रमहरु सञ्चालन भएका छन, त्यो कतिपय कार्यक्रमले उचित प्रतिफल दिन सकेनन ।’

किसानहरुलाई मलको अभाव हुन नदिन मन्त्रालयले काम अगाडि बढाइसकेको भन्दै उहाँले अब किसानहरुलाई मलको अभाव हुन नदिने बताउनुभयो । देशभरका स्थानीय तहलाई आफ्नो स्थानीय तहमा वर्षभरी चाहिने मलको माग पठाउन माघ अन्तिमसम्मको समय दिइएको भन्दै उहाँले अबका दिनमा मल अभाव नहुनेगरी मन्त्रालय अगाडी बढेको बताउनुभयो । ‘माघको अन्तिमसम्ममा आफ्नो स्थानीय तहमा कति मल चाहिन्छ भनेर माग पठाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अब किसानहरुलाई मलको अभाव नहुनेगरी मन्त्रालय अगाडी बढेको छ । हामी किसानहरुलाई आवश्यक पर्ने मल समयमै आपुर्ती गर्छौ । मन्त्रालयले कामको थालनी गरिसकेको छ ।’

कृषि क्षेत्रको सम्भावनालाई मध्यनजर गर्दै कृषिको व्यवसायिकरण, बजारीकरण र यान्त्रिकिकरण गरिने बताउदै उहाँले प्रविधिको प्रयोगबाट कृषिमा कसरी प्रगती गर्न सकिन्छ भनेर मन्त्रालय अगाडी बढेको बताउनुभयो । त्यसका निम्ती अब ठूला स्केलका उत्पादनमा जानुपर्ने समेत बताउनुभयो ।
त्यस अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री विमला विकले सरकार मुलुकलाई मन्त्रालयमार्फत महिलाका निम्ती सञ्चालन गरिने कार्यक्रमहरुमा सहजिकरण गरिने बताउनुभएको थियो ।