६ माघ २०७७, मंगलबार ००:००

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : केका लागि टाउको चिलाएको ? हिंसा भड्काउन ?


काठमाडौं, माघ ६ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सातोपुत्लो उडेकाले मांसहारी आन्दोलन खोजेको जवाफ दिनुभएको छ ।

नेकपा नुवाकोटको काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाघले मात्रै हिंस्रक भएर जीवजन्तु मार्ने र रगत खाने गर्ने भएकाले अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै भन्नुभयो, ‘टाउकोमा चायाँ परेर चिलाएको भनेको सुन्नुभएको होला, लाठी खाइमागेको सुन्नुभएको होला, जनता र पार्टीप्रति विश्वास नगरेर केका लागि हिंस्रक आन्दोलन ? के मान्छेको रगत टोक्न ? हिंसा भड्काउन ?’

प्रचण्डले साकाहारी नभई मांसहारी आन्दोलनको कुरा गरी युवाहरुलाई भड्काउन खोजेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिको पक्षमा रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी कसैको टाउको फुटाउन चाहँदैनौँ । हामी कसैलाई चोट नलागोस भन्ने चिताउँछौँ । हामी हिंसामा विश्वास गर्दनौँ । जनतामा विश्वास गर्छाै । निर्वाचन हुने भनेपछि उहाँहरुको सातोपुत्लो उडेको छ । अब पहिला जस्तो मतपत्र च्यातेर छोरी जिताउने वा बत्ती निभाएर विजयी गराउन सम्भव छैन ।’

उहाँले प्रचण्डले सत्तामा जाने भर्याङका लागि जनयुद्ध गराएर १७ हजारको ज्यान गुमाएको, हजारौँ घाइते र अंगभंग भएको जनाउँदै क्यान्टोनमेन्टमा लडाकू राख्ने नाममा कजेल र अन्य युवाहरु तानेर आफ्ना परिवारका नाममा सम्पति थुपारेको ठोकुवा गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिँदै प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन म आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन पनि गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गर्नुभयो ।