जनता टाइम्स

७ माघ २०७७, बुधबार १२:३४

संवैधानिक इजलासमा अधिवक्तालाई तोकियो समयसीमा


काठमाडौं, माघ ७

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अधिवक्ताले दिनभर समय लिन थालेपछि इजलासले समयसीमा तोकेको छ । बहस लम्बिने देखिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुन व्यवसायीहरूका लागि समय निर्धारण गरेको हो ।

सुनुवाइको चौथो दिन बुधबारदेखि इजलासले समय निर्धारण गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइमा सहभागी हुने कानुन व्यवसायीहरूका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो । अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बोल्न लाग्दा उहाले समयसीमा निर्धारण गरिएको बताउनु भयो । ज्ञवालीले भने आफूलाई १ घण्टा लाग्ने भएकाले समय दिन आग्रह गर्नुभएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हाले बहस लामो हुँदा फैसलामा ढिलाइ हुने भएकाले छोटो गर्न आग्रह गर्नुभयो । ‘समयको पावन्दीलाई ख्याल गरेनौं भने हामी यता बहस गरिराख्ने, उता भोट हाल्ने दिन आउने हो कि ?’ न्यायाधीश सिन्हाले भन्नुभयो ।

यसअघि पनि इजलासले समयमा ख्याल गर्न कानुन व्यवसायीलाई आग्रह गरेको थियो । बहस गर्दागर्दै समय लामो लागेर संसद विघटन गलत भए पनि निर्वाचनमा मुलुक गइसकेकाले रोक्न परेन भन्ने अवस्था नआओस् भनेर इजलासले सचेत गराएको थियो । तर, पनि अधिवक्ताले घन्टौं समय लिईरहेका थिए ।