जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १९:००

नेकपाको सचिवालय बैठकमा प्रस्तुत भयो ७७ ओटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको नाम


काठमाडौं, जेठ २१

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ७७ ओटै जिल्लाको इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले तयार पार्नुभएको इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत भएको हो ।

आजको बैठकमा पहिलो चरणमा जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाई बाँकी केन्द्रीय सदस्यको कार्यबिभाजन टुंग्याउने प्रस्ताव गरिएको एक नेताले जनताटाइम्सलाई बताए । ‘अध्यक्षद्वयले तयार पार्नुभएको ७७ ओटै जिल्ला इञ्चार्ज र सहइञ्चार्जको नामावली प्रस्तुत भयो, सवै नेतालाई प्रस्ताव दिइएको छ,’ बैठकपछि सचिवालयका एक नेताले भने । ती नेताका अनुसार अध्ययनपछि भोलि बस्ने सचिवालय बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाउने छ ।

जिल्ला इञ्चार्जको नाम टुंगो लगाउन अध्यक्षद्वय ओली र दाहालबीच हिजो सचिवालय सदस्य रामबहादुर थापा र मासचिव बिष्णु पौडेलसहित छलफल भएको थियो । नामावली तयार पार्नुअघि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो । ‘सवै नेतासँग परामर्श गरी अध्यक्षद्वयले जिल्ला इञ्चार्जको नाम प्रस्तुत गर्नुभएको छ, यसलाई पारित गर्न भोलिसम्म बैठक स्थगित गरिएको हो,’ ती नेताले भने ।

बैठकमा नाम प्रस्तुत भएपछि दोहोरो जिम्मेवारी परेको भन्दै बरिष्ठ नेता नेपालले असन्तुष्टि जनाउनु भएको छ । नेता नेपालले बिधि र प्रक्रियाअनुसार कार्यबिभाजन हुन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो । जिल्ला इञ्चार्जकै बिषयमा अध्ययन गर्ने बताएपछि सचिवालयको बैठक अन्य एजेण्डामा प्रवेश नै नगरी भोलिसम्मका लागि स्थगित भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । ‘भोलिसम्म बैठक स्थगित भएको छ, भोलिको बैठकले कार्यबिभाजनको टुंगो लगाउँछ,’ प्रवक्ता श्रेष्ठको भनाई थियो ।नेकपामा पार्टी एकता भएको एक बर्ष बितिसक्दा पनि केन्द्रीय सदस्यको कार्यबिभाजन हुन सकेको छैन ।

कार्यबिभाजन नहुँदा आफूहरुले काम नपाएको गुनासो केन्द्रीय सदस्यहरुले गर्दै आएका छन । कतिपय नेता जनसंगठनको समेत नेतृत्व लिएपछि पनि काम नपाएको गुनासो गर्न छाडेका छैनन । यद्यपी एकताले पुर्णता पाउन नसक्दा केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्म अन्यौलमा रहेका छन । सोही कारण एकता टुंग्याएर मन्त्रिपरिषदसमेत हेरफेर गरी युरोप भ्रमणमा जाने प्रधानमन्त्री ओलीको तयारी रहेपनि योजनाअनुसार काम अघि बढन सकेको छैन ।

नेकपामा पोलिटब्युरोमा रहने नेताको नाम टुंगिए पनि अझै गठन हुन सकेको छैन । घोषणाअगावै नाम सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डमाथि चर्काे दवाव परेको कारण पोलिटब्युरो गठन हुन नसकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा पार्टी एकताको बाँकी काम टुंग्याउने एजेण्डा रहेको थियो । अध्यक्षद्वय ओली र दाहाल चाँडो एकताको बाँकी काम टुंगो लगाउने योजनामा रहेपनि नेताहरुको पदीय लोभ लालचका कारण सफल हुन नसकेको आम कार्यकर्ताको बुझाइ छ ।

नेकपामा केन्द्रीय निकाय, बिभाग समेत गठन हुन बाँकी रहेको छ । जनसंगठनको एकता टुंगो लगाए पनि कतिपय संगठनमा नाममै बिवाद हुन थालेको छ भने अन्तरपार्टी निर्देशन नआएको कारण जनसंगठनले काममा गति लिन सकेका छैनन । पयस्तै प्रदेश स्तरीय पेशागत जिल्ला कमिटीसमेत गठन हुन सकेको छैन भने प्रवाश कमिटीको एकता पनि टुंगो लागेको छैन ।

नेकपाभित्र केन्द्रीय बिभाग प्रमुखको बिषयमा पनि बिवाद देखिएको छ । सचिवालयमै रहेका नेताहरुले संगठन बिभाग, बिदेश बिभाग र प्रचार बिभागमा अडान लिएपछि सहमति जुटन सकेको छैन । सवैभन्दा महत्वपुर्ण मानिने संगठन बिभागमा महासचिव बिष्णु पौडेल नै प्रमुख रहनु पर्ने भएपनि सचिवालय सदस्यहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा दावेदार देखिनु भएको छ ।

सचिवालय सदस्यमा सहमति जुटन नसके स्थायी कमिटीबाट संगठन बिभागको नेतृत्व दिने गरी समेत छलफल भइरहेको एक नेताले बताए । ‘दुई अध्यक्षबीच सचिवालयका नेताहरुबीच समति हुन नसकेको अवस्थामा स्थायी कमिटीबाट पनि संगठन र प्रभार बिभागको नेतृत्व दिन सकिन्छ भन्ने कोणबाट पनि छलफल भएको छ,’ सचिवालयका अर्का नेताले जनताटाइम्ससँग भने । एकता टुंग्याउने बिषयमा हिजो अध्यक्षद्वय ओली र प्रचण्डले झण्डै पाँच घण्टा छलफल गर्नुभएको थियो ।

सवै नेतासँग परामर्श गरी अध्यक्षद्वयले जिल्ला इञ्चार्जको नाम प्रस्तुत गर्नुभएको छ, यसलाई पारित गर्न भोलिसम्म बैठक स्थगित गरिएको हो

सो बैठकमा जिल्ला इञ्चार्जको नाममा सहमति भएपछि आजको सचिवालय बैठकमा प्रस्ताव प्रस्तुत गरिएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली यही जेठ २५ गते युरोप भ्रमणमा जान लाग्नुभएकोले सो समयभित्र एकताको सवै काम टुंगो लगाउने गरी गृहकार्य अघि बढेको र सोही अनुसार सचिवालयले आवश्यक निर्णय लिने नेताहरुले बताएका छन । यद्यपी आजको बैठकले ठोश निर्णय नगरी अध्ययनको लागि भोलिसम्म स्थगित गरिएको छ ।