जनता टाइम्स

७ माघ २०७७, बुधबार २३:५१

बाइडनले लिए अमेरिकी राष्ट्रपतिको सपथ, आयो यस्तो अठोट


काठमाडौं, माघ ७ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले आज ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिनुभएको छ । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पार्नुभएका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराउनु भएको हो ।

सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसपटकको शपथग्रहण समारोह भने यसअघिको भन्दा फरक देखिएको थियो ।

समारोहमा डोनाल्ड ट्रम्प सहभागी हुनुभएन । ट्रम्पले यसअघि नै यो समारोहमा सहभागी नहुने घोषणा गर्नुभएको थियो । आगामी राष्ट्रपतिको शपथग्रहणमा सहभागी नहुने उहाँ चौथो अमेरिकी राष्ट्रपति हुनुहुन्छ । पछिल्लो १५० वर्षको इतिहासमा भने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडन विजयी हुनुभएको थियो । उक्त निर्वाचनको नतिजामा ट्रम्पले असन्तुष्टि जनाउँदै आउनुभएको छ । तर अमेरिकी संसदले बाइडनलाई विजयी घोषणा गरेको थियो ।

बाइडनभन्दा पहिला उपराष्ट्रपतिमा कमलादेवी ह्यारिसले सपथ लिनुभएको थियो । ह्यारिस अमेरिकाको पहिलो महिला एव‌ं अश्वेत उपराष्ट्रपति हुनुहुन्छ । सपथ ग्रहण समारोहमा बोल्दै बाइडनले यो दिन अमेरिकाको लागि इतिहास र आशाको दिन रहेको बताउनुभयो । उहाँले आफू सबैको राष्ट्रपति बन्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

उहाँले अहिले अमेरिकाले सामना गरिरहेको समस्या सबै मिलेर समाधान गर्ने बताउनुभयो । आफूले राष्ट्रपतिको रूपमा सकेसम्म राम्रो काम गर्ने भन्दै उहाँले संविधान, प्रजातान्त्रिक पद्धति र अमेरिकाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।