काठमाडौं, माघ १०
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाले नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन भने आश्वास्त तुल्याउनु भएको हो ।

नेकपा अध्यक्ष समेत रहनु भएका ओलीले जनयुद्धमा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताउनु भयो । अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ओलीको भनाइ उदृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

तत्कालिन माओवादीका लडाकुहरुको संगठन पूर्व जनमुक्ति सेना तथा वहिर्गत वाल सेनाहरुको संगठनहरु केपी ओली नेतृत्वको नेकपामा समाहित भएको घोषणा समेत भएको छ । शनिवार प्रचण्ड–नेपाल पक्षधर नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापा सहित पूर्व लडाकु कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित हुनु भएको हो ।

पूर्व लडाकु संगठनका अध्यक्ष टुकवहादुर थापा (अर्जुन) र वहिर्गमित वाल सैनिक संगठनका लेनिन विष्ट सहितका पदाधिकारीहरुले ओली पक्षमा लागेको घोषणा गरेका हुन् । नेकपा नेता थापाले पूर्व लडाकु,वहिगर्मित सेना र वाल सैनिकहरुको संगठन अब ओली नेतृत्वको नेकपामा समाहित भएको बताउनु भयो ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुले प्रचण्डबाट पटक पटक धोका भएको र आफ्नो मात्र स्वार्थ हेर्ने गरेका कारण आफुहरुसँगै बस्ने अवस्था नरहेको बताएका छन् । नेकपा अनौपचारिक रुपमा विभाजन भएपछि प्रचण्ड पक्षका अधिकाशं नेता ओली पक्षमा उभिएका छन् ।













प्रतिक्रिया दिनुहोस्