काठमाडौं, माघ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरुले बिदेसमा रहेका सवै नेपालीको भावनालाई समेटदै संघलाई उनीहरुको साझा घरका रुपमा बिकसित गर्न नेतृत्वलाई सुझाव दिनुभएको छ । आजबाट सुरु भएको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वअध्यक्षहरुले यस्तो सुझाव दिनुभएको हो ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिनुभयो । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनु पर्ने पनि उहाँको सुझाव थियो ।
पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशनको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनिभूत छलफल गर्न सुझाव दिनुभयो ।
विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशील संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको भन्दै लक्ष्य प्राप्तीको मुल अभियानलाई छाडन नहुने बताउनु भयो । अधिवेशनमा संरक्षक परिषद्को सुझावअनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति लाई उहाँले विशेष धन्यवादसमेत दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन सुझाव दिनुभयो । भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि बिशेष अपिल गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष कुमार पन्तले सवैको भावनालाई समेटदै आफूहरु अघि बढिरहेको र थप प्रयत्न गर्ने बताउनु भयो । संघको महाधिवेशन भोलिसम्म चल्नेछ । बिशेष महाधिवेशनको उदघाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्