काठमाडौं, माघ ११ । बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट बनेको छ । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक बर्ष २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्नुभयो । पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापा, प्रहरी नायव उपरीक्षक (डिएसपी) द्वय निर्मल बुढाथोकी र वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत हुनुहुन्छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्छ्यौटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरुप्रति आभार व्यक्त गर्नुभयो । यस कार्यमा पूर्वप्रहरी महानिरीक्षकहरु सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत ठूलो योगदान रहेको उहाँले स्मरण गर्नुभयो ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्यौट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ गरी ३ वटा आर्थिक बर्षमा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको प्रहरी थियो ।
प्रतिक्रिया दिनुहोस्