काठमाडौं, माघ ११ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यन्वयन गर्न भन्सार विभाग र कृषि मन्त्रालय मातहतको दुई विभाग तथा एक कार्यालयबीच समझदारी भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशु सेवा विभागबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.सहदेव हुमागाई, पशु सेवा विभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठ र खाद्य तथा गुणस्तर विभागका महानिर्देशक उपेन्द्र रायले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । सो अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कार्यन्वयनको चरणमा रहेको कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोशेढुंगा सावित हुने बिश्वास ब्यक्त गर्नुभयो । समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रबहादुर कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यापारमा अब सहजता आउने बताउनु भयो । सेवाग्राहीले सरल ढंगबाट सेवा पाउने भन्दै कार्कीले प्रविधिको उच्चतम प्रयोग अहिलेको आवश्यकता रहेको तथ्य औल्याउनु भयो । एकद्वार प्रणाली कार्यन्वयन आयोजनाकोतर्फबाट कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताउनु भयो ।
उहाँका अनुसार छिट्टै कार्यन्वयनमा आउने एकद्वार प्रणालीले ४० वटाभन्दा बढी सरकारी निकायबाट प्रदान गरिने सेवा उपभोक्ताले अनलाइन र घरमै बसेर प्राप्त गर्ने छन ।
प्रतिक्रिया दिनुहोस्