जनता टाइम्स

१२ माघ २०७७, सोमबार ०९:१९

आयोगले अघि बढायो निर्वाचन तयारीको काम, सरकारसँग माग्यो यस्तो सहयोग


काठमाडौं, माघ १२ । निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगको मुख्यालय कान्तिपथ काठमाडौँमा आइतबार साँझ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सहयोग गर्न आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेर अनुरोध गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा नागरिकलाई सुसूचित गराउन पत्रमा विवरण समावेश गरेको छ । त्यस क्रममा आवश्यक भौतिक पूर्वाधार, सञ्चार, स्वास्थ्य सतर्कतालगायतको प्रबन्ध गर्न आवश्यक भएको भन्दै स्थानीय प्रशासन र स्थानीय तहमार्फत आवश्यक व्यवस्था मिलाउन निर्देशन गर्नसमेत आयोगले सरकारसँग अनुरोध गरेको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम वा सम्बन्धित निर्वाचन क्षेत्रको उपयुक्त स्थानमा स्थापना गर्न आग्रह पनि गरेको छ । निर्वाचनका सम्पूर्ण क्रियाकलाप व्यवस्थापन गर्नका लागि उपयुक्त स्थल चयन गरी विकल्पसहित आयोगमा सिफारिस गरी पठाउन पनि सरकारलाई अनुरोध गरिएको छ ।

आयोगले मतदान स्थलमा आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सरकारलाई आग्रह गर्दै कायम भएका मतदान स्थलहरूको संरक्षण र मर्मत सम्भार गर्न अनुरोध गरेको हो । यसैगरी मतदान स्थलमा खानेपानी र शौचालयको उचित प्रबन्ध गर्न भनिएको छ । आयोगका अनुसार मतदान स्थलमा विद्युत्, सञ्चार, आवतजावतको वैकल्पिक मार्ग, सडक, पुलपुलेँसा, कम्पाउन्ड वाल र तारबारको उचित व्यवस्थाका लागि सरकारलाई जानकारी गराइएको छ ।

विवरण अद्यावधिक

निर्वाचनका क्रममा आवश्यक पर्ने जनशक्तिलाई अद्यावधिक गरी आयोगमा उपलब्ध गराउन पनि आयोगले ससरकारलाई आग्रह गरेको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र शैक्षिक संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको विवरण अद्यावधिक गरी उपलब्ध गराउन आग्रह गरिएको हो । निर्वाचन प्रयोजनका लागि माग गरेको समयमा तुरुन्त उपलब्ध गराउनका लागि यसको अद्यावधिक गर्न आयोगले आग्रह गरेको हो ।

निर्वाचनका सन्दर्भमा आयोगबाट भएका निर्णयलाई प्राथमिकताका साथ तत्काल कार्यान्वयन गराउन पनि आयोगले अनुरोध गरेको छ । आयोगले निर्वाचनसम्बन्धी सामग्रीलाई प्राथमिकतासाथ प्रकाशन तथा प्रसारणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ । निर्वाचन आयोगबाट उत्पादित तथा प्रेषित सूचनामूलक सामग्रीहरू सार्वजनिक तथा निजी सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण हुने व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको हो ।

पूर्वाधार तयारी

आयोगले मतदान स्थल तथा मतदान केन्द्रमा पुग्ने सडकलाई मर्मत गरी व्यवस्थित बनाउन समेत सरकारलाई अनुरोध गरेको छ । निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल तथा मतदान केन्द्रसम्म पुग्ने सडकलगायतको भौतिक पूर्वाधारलाई मर्मत गरी सञ्चालन अवस्थामा राख्न आग्रह गरिएको छ ।

सभागृह तथा अतिथिगृह, सवारी साधन, परिवहनका साधन र अन्य विद्युतीय उपकरणहरू निर्वाचनका लागि निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । यसैगरी एम्बुलेन्स तथा दमकलजस्ता साधनलाई पनि तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन भनिएको छ ।