जनता टाइम्स

१२ माघ २०७७, सोमबार १४:१८

प्रधानमन्त्रीमाथिको अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन सहमत भए पार्टी एकता कायमै रहन्छ : उपप्रम पोखरेल


काठमाडौं, माघ १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्इ तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, प्रचण्डले दुईओटा काम गरे पार्टी एकता कायमै रहन सक्ने तथ्य औल्याउनु भएको छ ।

आगामी माघ २३ गते काठमाडौंमा गर्न लागिएको जनप्रदर्शनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले प्रचण्ड २८ कात्तिकमा दर्ता गरेको ‘आरोप पत्र’ फिर्ता लिएर चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता कायमै रहने प्रष्ट पार्नुभयो ।

‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्‍याउन खोजियो,’ पोखरेलले भन्नुभयो, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षबिरुद्ध जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ।’