जनता टाइम्स

१२ माघ २०७७, सोमबार १६:३९

समयअगावै सकियो राप्ती नदीमा पक्की पुल निर्माणको काम, प्रधानमन्त्रीले दिए निर्माण ब्यवसायीलाई धन्यवाद


दाङ, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अघि बढिसकेकोले अब कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ । दाङको राप्ती नदीमा बनेको सिसहनियाँ र गडवाह दुईवटा पालिकालाई जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो ठोकुवा गर्नुभएको हो ।

उहाँले देशमा विकासको लहर चलिरहेको पनि बताउनु भयो । ‘कोभिड–१९ ले पनि हामीलाई विकासको काममा रोक्न सकेन, केही केही प्रतिकुलता थप्यो, तर पनि हामीले ती प्रतिकुलतालाई चिरेर अनुकुलता बनाएर अगाडि बढ्यौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले कोभिड १९ विरुद्धको खोप भोलिबाट सुरु हुने जानकारी पनि दिनुभयो । पहिलो चरमा फ्रण्टलाइनमा बसेर काम गर्नेलाई लगाइने सो खोप कार्यक्रम माघ १८ सम्म पूरा गर्ने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । त्यस पछि क्रमशः अभियान अघि बढ्ने उहाँले बताउनुभयो ।

नेपलाकै दोस्रो लामो सो पुल ९२ करोड ६९ लाख रुपैँयाको लागतमा निर्माण भएको हो । ८ सय ६० मिटर लामो सो पुल १०.५ मिटर चौडा रहेको छ । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा रहेको छ । जसको लम्बाइ १ हजार १५ मिटर छ ।

समयम अगावै पुल निर्माणको काम सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीले निर्माण कम्पनी तथा सरोकारवालाई धन्यवाद दिनुभयो । चार वर्षमा निर्माण गरिसक्ने लक्ष राखिएको सो पुल दुइ वर्ष नौ महिनामा सम्पन्न भएको हो ।