जनता टाइम्स

१५ माघ २०७७, बिहीबार १६:२६

प्रचण्ड-माधवबारे प्रधानमन्त्री ओलीको टिप्पणी : पार्टी छोडेर जाने विदेशीको दलाली गर्नेले देश बनाउन सक्दैन


काठमाडौं, माघ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको दलाली गर्ने र पार्टी फोडेर जानेले संगठन बनाउन नसक्ने घोषणा गर्नुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय कार्यकर्ता भेलामा नेकपा बिभाजन गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘पार्टी छोडेर जाने विदेशीको दलाली गर्नेले देश–संगठन केही पनि बनाउन सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले पुष्पकमल दाहाल प्रचण्डको चटकबाट नअल्मिएको जिफन्ट मात्र भएको धारणा पनि राख्नुभयो । ‘प्रचण्डको चटकबाट नअल्मिएको जिफन्ट मात्र हो,’ प्रधानमन्त्री ओलीको भनाई थियो । मजदूरको नाम नलिएर नथाक्ने, विदेशीको चाकरी गर्ने तत्व अहिले अलग भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘उहाँहरु कहिले निर्वाचन आयोग पुग्नुहुन्छ, कहिले अदालतमा मुद्दा हाल्न पुग्नुहुन्छ, हामीले उहाँहरुलाई निकालेका छैनौं, उहाँहरु आफै जानुभएको हो, हामी राजनीति गर्छौं मुद्दा हाल्दैनौं ।’

प्रधानमन्त्री ओलीले आफूहरु कर्मी मौरी र अलग भएको समुह अरुले खोजेर ल्याएको खाएर बस्नेहरु भएको कथा पनि सुनाउनु भयो । दुई थरी मौरीको कथा सुनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मौरी दुई थरी हुन्छन्, एउटा मह खोजेर ल्याउने कर्मी मौरी, अर्को अरुले खोजेको खुरुखुरु बसेर खाने, हामी कर्मी मौरी हौं ।’

उहाँले नेपालको मजदूर आन्दोलनलाई केही तत्वले विभाजन गर्न खोजेका भन्दै त्यसो हुन आफूहरुले नदिइएको बताउनुभयो । ‘केही तत्वले मजदूर आन्दोलनलाई विभाजन गर्न खोज्दै छन्, तर हामीले विभाजन गर्न दिएका छैनौं, अब अलमलिएकाहरुलाई पनि लाइट देखाएर हामीतिर ल्याउँछौं, विभाजन हुन दिन्नौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।