जनता टाइम्स

१५ माघ २०७७, बिहीबार १६:३६

जनयुद्धमा कार्यकर्तालाई जंगल पसाएर प्रचण्ड दिल्लीमा जेलवाला तेलले जुल्फी कोरेर बस्थे : प्रधानमन्त्री ओली


काठमाडौं, माघ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ुप्रचण्डु जंगल नबसेको दाबी गर्नुभएको छ ।

बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता जंगलमा राखे पनि प्रचण्ड दिल्ली बसेको बताउनुभएको हो । ‘उहाँ जंगल बसेको होइन। त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कार्यकर्ता जंगल बसाउनुभयो। जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो।’

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ०७४ सालको चुनावमा चितवनमा आफूहरूले जिताएको तथ्यसमेत राख्नुभयो । ‘०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो। ठूला सभा गरेर। जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र अनुरोध गरेर जिताएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘०७० सालमा त बत्ती निभाएर, बाकस साटेर। त्यसअघि कीर्तिपुर हारेको। रोल्पा, सिरहा, कीर्तिपुर हुँदै चितवन जानुभयो, अब कता जाने हो ? जंगल जाने होइन।’

‘प्रचण्डले सूर्य चिन्हबाट एकपटक चुनाव लड्नु भयो ? कहिलेबाट तपाईंको भो सूर्य चिन्ह ?,’ उहाले प्रश्न गर्नुभयो, ‘पार्टी छोडेपछि सूर्य चिन्ह ? दशा लागेपछि के लाग्छ।’ प्रधानमन्त्री ओलीले केही सञ्चार माध्यमले सरकारका राम्रा काम नदेखेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आफूविरूद्ध मुद्दाहरू दर्ता भइरहेकोले कानुन पढेकाहरूले काम पाइरहेको बताउनुभयो। विगतमा आफ्नो सरकार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको उहाले बताउनुभयो ।