जनता टाइम्स

१६ माघ २०७७, शुक्रबार १८:२२

कृषि तथा तरकारी बजार कलंकीमा पनि शुरू


काठमाडौं, माघ १६

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गर्नुभएको छ । आज कलंकीस्थित कृषिबजारमा आयोजित औपचारिक कार्यक्रमकाविच मन्त्री अर्यालले कृषि बजारको उद्घाटन गर्नुभएको हो । शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा बलिदानी गर्ने शहीदको तस्विरमा माल्यार्पण गर्नुभएको थियो ।

शहीदको तस्बिर माल्यार्पण गर्दै उहाँले तत्कालीन समयमा जनताका पक्षमा आवाज उठाउने क्रममा बलिदानी दिने शहिदको योगदानकै कारण अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । ‘शहीदले परिवर्तनका लागि आफ्नो जीवनको आहुती दिनुभएको छ । तत्कालिन समयमा जनताका आवाज बोल्ने जनताका अगुवालाई तत्कालिन शासकले निर्ममतापूर्वक हत्या गरेको थियो’, मन्त्री अर्यालले भन्नुभयो, ‘उहाँहरुको बलिदानीपछी मूलुकले क्रमशः धेरै राज्यसत्ता परिवर्तन गर्दै जनताको जीवनको सुधार, मुलुकको समृद्विको दिशामा अगाडी बढिरहेको छैन ।’

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन लक्ष्यलाई पुरा गर्नका लागि सरकार लागिरहेको बताउँदै उहाँले किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउँदै उहाँले समृद्व जीवन बनाउनका लागि अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने बताउनुभयो ।

‘यो जमाना श्रमलाई सम्मान गर्ने जमाना हो । श्रमसँग जोडिदै श्रमसँग जोडिएका उत्पादक किसानलाई सम्मान गर्ने जमाना हो । चौतारीमा बस्ने, टालटुल गर्ने, ठगठाग गर्ने जमाना गए’, मन्त्री अर्यालले थप्नुभयो, ‘गरेर खाने प्रवृत्तिको विकास गर्नका लागि सबै युवा लाग्न आवश्यक छ । तपाईहरुले सिधै उत्पादक किसानसँग सम्बन्ध राख्नुस ।’

अहिले उत्पादनको समस्या नभएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुले बजार पाउदैँन की भन्ने समस्या रहेको उल्लेख गरिन् । बजारको समस्याको अन्त्य गर्नका लागि जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उहाँको भनाइ थियो ।

‘एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुन्छ । हामीले सामुहिकतामा चक्लाबन्दी मोडेलमा ठुला मोडेलमा तरकारी, फलफूल उत्पादन गर्‍यौं भने यस्ता बजार तपाईको गाउँमा आफै खोज्दै आउछ’, उहाँले भन्नुभयो,‘तपाईले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईको गाउँमा संकलन केन्द्र दिन्छ । त्यो गाउँमा संकलन गर्ने, त्यहाँ यस्तै बजार पुग्छन् र बजारतिर पठाउने ।’

कम्तिमा पनि यस्ता १ सय बजारलाई पुग्नेगरी ठूला परिणाममा उत्पादन गर्नुपर्ने उहाँको भनाइ थियो । राजनीतिक दलले पनि पार्टीले विचारसँगै जनतालाई गरिखान सिकाउनुपर्ने भन्दै उहाँले यही बाटोबाट नै सरकारले लिएको लक्ष्य पुरा हुने बताउनुभयो । त्यसका लागि यान्त्रिकीकरणलाई जोड दिदै अगाडी बढ्न समेत मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

उहाँले थप्नुभयो,‘ठूला परिमाणमा उत्पादन गर्न अब मानवश्रमले मात्रै सकिदैन । त्यसैले यान्त्रिकीकरणमा जानुपर्छ । औजारको प्रयोग गरेर ठुला स्केलमा उत्पादन गरी बजारको ग्यारेन्टी गर्नेगरी सरकार अगाडी बढेको छ ।’ कलंकी कृषि बजारमा हाल ११५ स्टल रहेका छन् । आगामी दिनमा त्यसलाई अझ बिस्तार गर्दै जाने मन्त्री अर्यालको भनाइ थियो ।