जनता टाइम्स

१७ माघ २०७७, शनिबार ०७:४९

विश्वभर ७ करोड ४३ लाख मानिसले जिते कोरोना


काठमाडौँ, माघ १७  ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ७ करोड ४३ लाखभन्दा बढी मानिसले निको भएका छन् । शनिबारसम्म ७ करोड ४३ लाख ३ हजार ६७८ जना निको भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७२.४२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ८०३ जना निको भएका छन् । कुल संक्रमितको २५.४२ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् ।

सक्रिय संक्रिमतको संख्या २ करोड ६० लाख ७४ हजार ७६९ रहेको विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले जनाएको छ । यसमध्ये १ लाख ९ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ भने पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड २५ लाख ९२ हजार ७७३ पुगेको छ । यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५३१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२ लाख १४ हजार ३२६ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१६ प्रतिशत रहेको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख ४७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् । संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।