काठमाडौं, माघ १७ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले नेकपाबाट चोइटिएर गएको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाका चुनावपछि बत्ति बालेर खोज्नुपर्ने ठोकुवा गर्नुभएको छ । नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री गुरुङले यस्तो ठोकुवा गर्नुभएको हो ।
‘चुनावपछि प्रचण्ड–माधव समुहलाई देशैभर बत्ति बालेर खोज्नुपर्छ, चुनाव कँहीपनि जितिदैन भनेर नै त्यो समुह डराइरहेको छ,’ मन्त्री गुरुङले भन्नुभयो, प्रधानमन्त्री केपी ओलीको भिजन, समृद्ध नेपाल नर्मिाण योजना र राष्ट्रियताको अडान देखेर उहाँहरु अरुको इसारामा पार्टी नै छाडेर भाग्नुभयो, जनताले यो तथ्य बुझिसकेका छन ।’ प्रचण्ड र माधवले आफ्नो पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको तथ्य पनि उहाँले राख्नुभयो ।

संविधानको रक्षाका लागि अब ताजा जनादेशमा जानुको विकल्प नभएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि व्यापक तयारीमा लाग्न कार्यकर्तालाई अपिल गर्नुभयो । मन्त्री गुरुङले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा गरेको कामलाई जनतासम्म पुर्याउन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले दोलखा जिल्लाका प्रत्येक विद्यालय, वडा र प्रत्येक घरमा इन्टरनेट पुर्याउने सरकारको योजना रहेको जानकारी दिदैं दोलखालाई स्मार्ट दोलखा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीले समृद्ध नेपाल निर्माणका लागि स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दोलखामा कम्युनिष्ट पार्टीका पुराना लोकप्रिय नेता जीतविर लामासहित सवैजसो नेताहरुको सहभागिता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्